सरकारले न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघीय स्थायी नियोग तथा तीन देशमा राजदूत नियुक्तिको तयारी गरेको छ । हाल रिक्त रहेका भारत, मलेसिया र संयुक्त अरब इमिरेट्स (युएई)स्थित दूतावासमा राजदूत नियुक्तिको तयारी भएको हो । यसका लागि सरकारले संसदीय सुनुवाइ समिति पर्खेको छ ।
कूटनीतिक स्रोतका अनुसार सरकारले भारत र मलेसियामा परराष्ट्र सेवाबाहिरबाट राजदूत पठाउनेछ भने न्युयोर्कस्थित नियोग र युएईमा परराष्ट्रका सहसचिवलाई पठाउनेछ ।
भारतका लागि पूर्वप्रमुख निर्वाचन आयुक्त डा. नीलकण्ठ उप्रेती, पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको नाम नेकपा वृत्तमा चर्चामा छ । उनीहरूले पटक–पटक अवसर पाएको हुनाले विकल्प खोज्नुपर्ने दबाब पनि पूर्वएमाले वृत्तले दिइरहेको छ ।
परराष्ट्र सचिवलाई न्युयोर्क पठाउने पछिल्लो प्रचलन रहे पनि परराष्ट्र सचिव शंकरदास वैरागीले अनिच्छा व्यक्त गरेको बुझिएको छ । सचिवका रूपमा उनको कार्यकाल अझै अढाइ वर्ष छ । वैरागी नगएको अवस्थामा परराष्ट्रका वरिष्ठ सहसचिव भरतराज पौड्याललाई न्युयोर्क पठाउने सम्भावना रहनेछ ।
वैरागी गए पौड्यालले सचिवमा पदोन्नति हुने अवसर पाउनेछन् । अहिले बहालवाला सहसचिवमध्ये वरिष्ठ रहेका थाइल्यान्डका लागि राजदूत खगनाथ अधिकारीले उमेरहदका कारण अब एक महिनाभित्रै अवकाश पाउँदै छन् । त्यसकारण वैरागीपछि वरीयता र क्षमताका आधारमा पौड्याल परराष्ट्र सचिव हुने सम्भावना छ ।
तर, पूर्वएमाले वृत्तमा परराष्ट्र सचिव वैरागीलाई भारतका लागि राजदूत बनाएर न्युयोर्कमा परराष्ट्रबाहिरका व्यक्तिलाई पठाउने विकल्पका बारेमा पनि छलफल भइरहेको छ ।
राजनीतिक तबरमा सम्बन्ध सुदृढ रहेको अवस्थामा सचिवलाई राजदूत बनाएर दिल्ली पठाउँदा भारतको कर्मचारीतन्त्रसँग सशक्त संवाद गर्न सकिने सम्भावना सरकारले देखेको छ । तर, यसबारे सचिव वैरागीसँग सघन छलफल नभएको कूटनीतिक स्रोतले बतायो ।
न्युयोर्कका लागि भने भदौ अन्तिम साताबाट अवकाश पाउन लागेका प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई पठाउनुपर्ने सुझाब पनि प्रधानमन्त्रीकहाँ पुगेको बुझिएको छ । क्षत्री निकटस्थले उनलाई न्युयोर्क पठाए राष्ट्रसंघमा नेपालको उपस्थिति सशक्त हुने सुझाब दिएका छन् ।
प्रधानमन्त्री केपी ओलीको अघिल्लो कार्यकालमा भारतीय नाकाबन्दी हटाउन क्षत्रीले गरेको सैन्य कूटनीतिक पहलका बारेमा क्षत्री निकटस्थले प्रधानमन्त्रीलाई सम्झाइरहेको बालुवाटार स्रोतको भनाइ छ ।
मलेसियाका लागि पूर्वएमाले नेता उदय पाण्डेलाई राजदूत बनाउने तयारी छ । युएईका लागि परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाललाई पठाउने सम्भावना देखिएको छ । उनी यसअघि लामो समय नयाँदिल्लीस्थित दूतावासमा उपनियोग प्रमुख एवं कार्यवाहक राजदूत थिए ।
पूर्वराजदूत दीपकुमार उपाध्यायसँग खटपट भएपछि उनलाई परराष्ट्र मन्त्रालयले फिर्ता बोलाएको थियो । उनी भरतराज पौड्यालपछि परराष्ट्रका वरिष्ठतम् सहसचिव हुन्