अमेरिकाको न्यूयोर्कबाट प्रकाशित हुने एभरेष्ट टाइम्सको सहआयोजनामा न्युयोर्कमा चौथों (काठमाडौ इन्टरनेशनल माउन्टेन फिल्म फेष्टिबल) किम्फ सम्पन्न भएको छ ।
नेपालमा लामो समयदेखि हिमाल एसोसियसनको आयोजनामा हुँदै आएको किम्फ देश बाहिर ट्राभलिङ किम्फको रुपमा विगत चार वर्षदेखि अमेरिकामा एभरेष्ट टाइम्सको सहआयोजनामा हुँदै आएको छ ।
नेपालको ग्रामिण भेगको बास्तविक कथा बस्तु समेटेर बनाएका विभिन्न ४ डकुमेन्ट्रीहरु यस पटक गत शनिबार न्युयोर्कस्थित शेर्पा किदुगको हलमा प्रर्दशन गरिएको थियो । यस पटक चिल्डेन अफ स्नोल्याण्ड, च्यालो, जलगेडी र पेम्बा रिटन टु गोली प्रर्दशन गरिएको थियो ।
कार्यक्रममा नेपाली कन्सुलेटका महाबाणिज्यदुत मधु मरासिनी, बौद्ध धर्म गुरु आवतारी लामालगायत विभिन्न समुदायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । किम्फ दुई सोमा भएको थियो ।
‘ नेपालको ग्रामिण भेगको बास्तविक कथा बस्तुलाई प्रवासी नेपाली समुदायमा देखाउनका साथै विदेशमा नेपाल चिनाउनका लागि विगत ४ वर्षदेखिन हामीले ट्राभलिङ किम्फ आयोजना गदै आएको हो’ एभरेष्ट टाइम्सका प्रधान सम्पादक आङछिरिङ शेर्पाले भने, ‘किम्फबाट उठने रकम नेपालको ग्रामिण भेगको विद्यालयलाई सहयोग गर्न पाउँदा खुशी लागेको छ ।’
एभरेष्ट टाइम्सले किम्फ गरेर यस अघि सोलुखुम्बुको दुई विद्यालयलाई सहयोग थरिसकेको छ भने गत वर्ष सिन्धुपाल्चोकको विद्यालयलाई सहयोग गरेको थियो । यस पटकको किम्फबाट उठेको रकम रामेछापको कुनै दुर्गम विद्यालयलाई सहयोग गर्ने योजना बनाएको उनले बताए ।
‘प्रवासमा ग्रामिण भेगको मन छुने राम्रो डकुमेन्ट्रीहरु देखाउन पाउँदा निकै रमाइलो अनुभव भयो ’ एभरेष्ट टाइम्सका सम्पादक ङिमा पाख्रिनले भने, ‘भविष्यमा प्रवासमा रहेका नेपालीको कथामा बनेका डकुमेन्ट्रीहरु किम्फमा समाबेश गराउने हाम्रो प्रयास रहने छ ।’