बेलायतका विदेशमन्त्री बोरिस जोनसनले पदबाट राजीनामा दिएका छन् ।
बेलायती प्रधानमन्त्रीको कार्यालय डाउनीङ स्ट्रीटले जानसोनले पेश गरेको राजीनामा सोमबार स्वीकृत गरिएको एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।
ब्रेजिक्ट मन्त्रीले राजीनामा दिएको केही घण्टापछि विदेश मन्त्रीले पनि राजीनामा दिएका हुन् ।
बेलायतका ब्रेजिक्ट मन्त्री डेभिड डेभिसले सोमबार नै मन्त्री पदबाट राजीनामा दिएको विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् ।
प्रधानमन्त्रीको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विदेश मन्त्रीको पदबाट बोरिस जोनसनले दिएको राजीनामा प्रधानमन्त्रीबाट स्वीकृत भएकोे छ ।’
प्रधानमन्त्री टरिजा मेको मन्त्रिपरिषदमा रहेका डेभिस र जोनसनले राजीनामा दिएपछि बेलायतमा नयाँ राजनीतिक तरङ्ग पैदा भएको छ ।
युरोपेली संघबाट बेलायतको बहिर्गमन विषयमा वार्ता गर्ने जिम्मेवारी पाएका मन्त्रीहरूको राजीनामाले ब्रेक्जिटसम्बन्धी मुद्दालाई प्रभाव पार्ने अनुमान गरिएको छ ।
इयुसँगको भावी व्यापार सम्बन्धका विषयमा बेलायतले एउटा नयाँ प्रस्ताव ल्याएकोमा त्यसको दुई दिनपछि नै उनीहरूको राजीनामा आएको हो ।
ब्रेक्जिट वार्ताहरूको विषयमा कैयौँ पटक प्रधानमन्त्री मेले लिएका अडानहरूबारेमा उनीहरूको मतभेद पनि भएको बताइएको छ ।
ब्रेजिक्टको बारेमा बेलायतमा भद्रगोलको अवस्था रहेको र प्रधानमन्त्री मेसँग ब्रेक्जिटको बारेमा सही र समर्थन बाँकी नरहेको लेबर पार्टीका प्रमुख इयान लेभरीले बताए ।
ब्रेक्जिटको विपक्षमा रहेको कन्जरभेटिभ पार्टीका नेताहरूले भने उनीहरूको राजीनामाको स्वागत गरेका छन् ।
प्रधानमन्त्री मेले राजीनामा दिएका मन्त्रीहरूलाई विगतको काम र सहयोगका लागि धन्यवाद दिदै चाडै नै उनीहरूको ठाउँमा नयाँ मन्त्री नियुक्त हुने जानकारी दिए ।