रुसमाथि अमेरिकाले लगायो प्रतिबन्ध

रुसमाथि अमेरिकाले लगायो प्रतिबन्ध
समाचार

रुसका पूर्वजासूस स्क्रिपाल र उनकी छोरीलाई बेलायतमा नोभिचोक विष दिएको विषयमा अमेरिकाले कडा दृष्टिकोण अपनाउँदै रुसमाथि प्रतिबन्ध लगाएको छ ।

यसअन्तर्गत अमेरिकाले रुसी सेनालाई काम लाग्ने प्राविधिक सामानको निर्यातमा रोक लगाउनेछ । प्रतिबन्ध २२ अगस्टबाट लागू हुनेछ ।

त्यसको ९० दिनभित्र रुसले रासायनिक र जैविक हतियार भविष्यमा प्रयोग नगर्ने वाचा गर्नुपर्ने हुन्छ । त्यसो नगरेमा थप प्रतिबन्ध लगाइनेछ ।

अमेरिकाका अनुसार, रुसमाथि सन् १९९१ को रासायनिक तथा जैविक हतियार नियन्त्रण र युद्ध उन्मूलन नियमअन्तर्गत कारवाही गरिएको हो ।

रुसका पूर्वजासूस सर्गेई स्क्रिपाल र उनकी छोरी युलिया सन् २०१० देखि बेलायतमा थिए । दुवैलाई मार्च महिनामा सेल्सबरी सिटी सेन्टरबाहिर बेहोश अवस्थामा पाइएको थियो र विष दिएको पुष्टि भएको थियो । अप्रिलमा युलिया र मे महिनामा सर्गेइलाई अस्पतालबाट छुट्टी दिइएको थियो ।

रुसले चाहिँ यो घटनामा आफूहरूविरुद्ध कुनै प्रमाण नभएको जनाएको छ । संयुक्त राष्ट्रसंघमा रुसका स्थायी प्रतिनिधि दिमित्री पोलियन्स्कीले भने, ‘प्रमाण र तर्कविना हामीमाथि प्रतिबन्ध लगाइएको हो । यहाँ एउटा मात्र नियम छ – सबै दोष रुसमाथि लगाऊ ।’

बेलायतले भने अमेरिकाको यो कदमलाई स्वागत गरेको छ ।

Post Comment