नयाँ शक्ति निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह भने स्वीकृत भएन

समाचार

naya-sakti.jpg

काठमाडौं, भदौ ८ । नयाँ शक्ति पार्टी नेपालले निर्वाचन आयोगमा दर्ता भएको छ ।

निर्वाचन आयोगले मिति २०७३ भाद्र ७ गतेको मितिमा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईलाई पत्र लेखी नयाँ शक्ति, पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएकोे जानकारी दिएको हो ।

आयोगको दल दर्ता किताब अनुसार नयाँ शक्ति पार्टी, नेपालको दर्ता नं. रा. ५६ रहेको आयोगको पत्रमा उल्लेख छ ।

आयोगको २०७३ भाद्र ५ गतेको बैठकबाट निर्वाचन प्रयोजनका लागि नयाँ शक्ति पार्टी, नेपाललाई राजनीतिक दलको रुपमा आयोगमा दर्ता गरिएको जनाउँदै पत्रमा उल्लेख छ, ‘राजनीतिक दल सम्बन्धी ऐन, २०५८ को दफा ७ बमोजिम उक्त नयाँ शक्ति पार्टी, नेपाललाई राजनीतिक दलको रुपमा आयोगमा दर्ता गरी दिने तथा सो दलको कार्यकारी समिति, विधान र झण्डालाई प्रमाणित गरी दिने निर्णय भएको व्यहोरा जानकारी गराइन्छ ।’

आयोगको पत्र अनुसार नयाँ शक्तिको चुनावचिन्ह भने स्वीकृत भएको छैन ।

‘हाललाई आयोगले चुनाव चिन्हसम्बन्धी प्रावधान स्थगित गरी दल दर्ता गरेको छ’ नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटाले भने ‘आयोगले निर्वाचन चिन्हको बारेमा पछि निर्णय गर्ने जनाएको छ’ गत असार २६ गते नयाँ शक्ति, पार्टी नेपालले संयोजक डा. बाबुराम भट्टराईको नेतृत्वमा निर्वाचन आयोग पुगी राजनीतिक दल दर्ताका लागि निवेदन दिएको थियो ।