अमेरिकामा एक महिलाले तीन नवजात शिशुसहित पाँचजनामाथि चक्कु प्रहार गरेकी छिन् । न्युयोर्कको क्विन्समा रहेको नवजात शिशु स्याहार केन्द्रमा तीन शिशुसहित पाँचजनामाथि चक्कु प्रहार भएको हो । चक्कु प्रहारबाट घाइते हुने शिशु तीनदेखि २० दिनसम्मका रहेका छन् ।
घाइते भएका शिशुसहित सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । अवस्था गम्भीर तर स्थिर रहेको र सबैको ज्यान जोगिने आश भने रहेको प्रहरीले जनाएको छ । चक्कु प्रहारवाट शिशुका पिता मध्ये एकजनाको खुट्टा तथा एक महिला कामदारको शरीरको माथिल्लो भागमा चोट लागेको छ ।
घटना भएको समयमा शिशु स्याहार केन्द्रमा ९ जना बालबालिका रहेको बताइएको छ । आक्रमणकारी महिला नाडीमा चोट लागेको अबस्थामा घरको अण्डरग्राउण्डमा अचेत अवस्थामा भेटिएकी थिईन् । ५२ वर्षकी ति महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको न्युयोर्क प्रहरीले जनाएको छ ।
प्रहरीले महिलाको नाम सार्वजनिक गरेको छैन । आक्रमणकारी महिलाले आक्रमण गरेपछि आफ्नो नाडी काटेको हुन सक्ने अनुमान गरिएको छ । उनि सोही स्याहार केन्द्रकी कर्मचारी रहेको अनुमान छ । घटनास्थलबाट दुईवटा चक्कु बरामद भएको छ ।