अमेरिकालाई उत्तर कोरियाको कडा चेतावनी

अमेरिकालाई उत्तर कोरियाको कडा चेतावनी
समाचार

अमेरिकाले प्रतिबन्धहरू जारी राखेमा आफ्नो मुलुकले निरस्त्रीकरण नगर्ने उत्तर कोरियाका विदेशमन्त्रीले चेतावनी दिएका छन्।

संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उत्तर कोरियाली विदेशमन्त्री रि यङ-होले प्रतिबन्धहरूले अमेरिकाप्रतिको उत्तर कोरियाको ‘अविश्वासलाई गहिरो बनाउँदै लगेको’ बताए।

प्योङयाङले प्रतिबन्धहरू हटाउन संयुक्त राष्ट्रसंघ र अमेरिकालाई निरन्तर आग्रह गर्दै आएको छ। र, त्यसमा उसले रुस र चीनको समर्थन पनि प्राप्त गरिसकेको छ।

तर ट्रम्प प्रशासनले चाहिँ उत्तर कोरियाले निरस्त्रीकरण नगरेसम्म प्रतिबन्धहरू यथावत रहने बताउँदै आएको छ।

गत जुनमा राष्ट्रपति डोनल्ड ट्रम्पले किम जङ-अनसँग ऐतिहासिक शिखर बैठक गरेका थिए र जहाँ किमले पारमाणविक निरस्त्रीकरणका लागि काम गर्ने प्रतिबद्धता जनाए।

तर त्यो दिशामा ठोस प्रगति चाहिँ नगन्य मात्रै भएको बताइन्छ।

महासभामा बोल्दै विदेशमन्त्री रिले ‘पहिला निरस्त्रीकरण गर्नुपर्ने नीति’मा अमेरिकाले जोड दिइरहेकोले ‘प्रतिबन्धको स्तर बढेको’ बताए।

“पछिल्लो गतिरोध अमेरिकाको बलपूर्वक कदमका कारण देखिएको हो जुन विश्वासको वातावरणका लागि घातक छ।”

Post Comment