केवल न्यूज नेटवर्क (सिएनएन) ले ह्वाइट हाउसको तर्फबाट आफ्नो वरिष्ठ पत्रकार जिम एकोस्टाको मान्यता रद्द गरेको विषयमा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दर्ता गरेको छ ।
जिम एकोस्टा ह्वाइट हाउसमा सिएनएनका मुख्य संवाददाता थिए । गत हप्ता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग बहस पछि उनको ‘प्रेस हार्ड पास’ फिर्ता लिइएको थियो ।
सिएनएनले भनेको छ, ‘उनीमाथि प्रतिबन्ध लगाउनु भनेको एकोस्टाको संवैधानिक अधिकारको उल्लंघन गर्नु हो ।’
उक्त मुद्दा मंगलबार वासिङ्टनमा दर्ता गरिएको हो र यसमा राष्ट्रपति ट्रम्प र उनका अन्य सहयोगीलाई प्रतिवादी बनाइएको छ ।
यी अधिकारीमा चीफ अफ स्टाफ जोन केली र ह्वाइट हाउसकी प्रेस सचिव सारा स्यान्डर्स समावेश छन् ।
सारा स्यान्डर्सले एकोस्टाको पास रद्द गर्नुको कारण अस्विकार्य आचरण बताएकी थिइन् । उनले मंगलबार जिम एकोस्टा सिएनएनका करिब ५० हार्ड पास धारकमध्ये एक भएको बताएकी छिन् ।
उनले भनिन्, ‘यदि कोही पत्रकारले यस्तो प्रकारको व्यवहार गर्छन् भने ह्वाइट हाउस व्यवस्थित र निष्पक्ष पत्रकार सम्मलेन गर्न असमर्थ हुनेछ । यो एक व्यवसायिक पत्रकारका लागि ठिक होइन ।’
उक्त घटनापछि सारा स्यान्डर्सले ट्वीट गरेर एकोस्टामाथि ‘आफ्नो काम गरिरहेकी एक महिलालाई जबर्जस्ती हातले रोक्न कोसिस गरेको’ भन्दै आरोप पनि लगाएकी थिइन् ।
साराले यो कुरा ती महिलाका लागि गरेकी हुन् जो ह्वाइट हाउसमा इन्टर्न हुन् र पत्रकार सम्मेलनको क्रममा जिम एकोस्टाको माइक खोस्ने कोसिस गरिरहेकी थिइन् ।
यद्यपी, एकोस्टाले ह्वाइट हाउसको आरोपलाई गलत बताउँदै आफूले कुनै गल्ती नगरेको बताएका छन् ।
We stand by our decision to revoke this individual’s hard pass. We will not tolerate the inappropriate behavior clearly documented in this video. pic.twitter.com/T8X1Ng912y
— Sarah Sanders (@PressSec) November 8, 2018
पछि सारा स्यान्डर्सले उक्त भिडियोको जूम गरिएको क्लिप पनि सेयर गरिन् । यो भिडियोलाई विशेषज्ञले स्पिडलाई एडिट गरेको बताए ।
त्यसपछि ह्वाइट हाउस करेसपोन्डेन्ट्स असोसिएशनले ट्रम्प प्रशासनसँग यो निर्णय फिर्ता लिन अपिल गरेको थियो ।
पत्रकार सम्मेलनमा के भएको थियो ?
यो घटनाक्रम नोभेम्बर सातको हो जब एक पत्रकार सम्मेलनको क्रममा डोनल्ड ट्रम्प र एकोस्टाबीच केही प्रश्नका लागि बहस भएको थियो । त्यसको एक दिन पछि उनको पास रद्द गरियो ।
संवाददाता जिम एकोस्टा अमेरिकी राष्ट्रपतिसँग मेक्सिकोका शरणार्थी र मेक्सिकोबाट अमेरिकातर्फ बढिरहेका प्रवासीको एक समूहबारे प्रश्न सोधिरहेका थिए ।
तर प्रश्नको बीचमा नै ट्रम्पको अफिसमा तैनाथ एक महिलाले पत्रकारको हातबाट माइक खोस्ने कोसिस गरिन् ।
यतिबेला ट्रमपले पनि ‘धेरै भयो….धेरै भयो…. अब रोक्नुस्’ भन्न सुरु गरे । ट्रम्पले एकोस्टालाई माइक तल राख्न पनि भने ।
त्यसपछि ट्रम्पले भने, ‘तपाईं सिएनएनका लागि काम गर्नुहुन्छ, यो सिएनएनका लागि लज्जाको विषय हो । तपाईंले सारा स्यान्डर्सको टिमको सदस्यमाथि जस्तो व्यवहार गर्नुभयो त्यो निन्दनीय छ ।’
मुद्दा दर्तापछि सिएनएनले एक बयानमा भन्यो, ‘हामीले अदालतको आदेशमा तत्काल रोक लगाउने र जिम एकोस्टाको पास फिर्ता गर्न आग्रह गरेका छौं र हामी यो प्रक्रियाको माध्यमले स्थाई राहत माग्नेछौं ।’