इण्डोनेशियामा आएको सुनामीका कारण ज्यान गुमाउनेको सङ्ख्या २२२ पुगेको अधिकारीहरूले पुष्टि गरेका छन्।
क्राकाटोआ ज्वालामुखी विस्फोटले समुद्रमुनि पहिरो निम्त्याउँदा सुनामी आएको अनुमान गरिएको छ।
जाभा र सुमात्रा टापुको बीचमा पर्ने सुन्दा स्ट्रेटले जाभा सागरलाई हिन्द महासागरसँग जोड्छ।
सुनामीका कारण सयौँ घरमा क्षति पुगेको छ भने कारहरू पल्टिएका छन् र रुखहरू ढल्न पुगेका छन्।
सयौँ मानिसहरू घाइते भएका छन् र कैयौँ हराइरहेका छन्। तिनीहरू भग्नावशेषमा फसेको हुनसक्ने ठानिएको छ।
स्थानीयबासिन्दा र पर्यटकहरूलाई समुद्री तटहरूदेखि टाढा बस्न भनिएको छ।
राष्ट्रपति जोको विडोडोले समवेदना व्यक्त गर्दै मानिसहरूलाई धैर्य धारण गर्न आग्रह गरेका छन्।
किन इण्डोनेशियामा आइरहन्छन् सुनामी?
क्राकाटोआ सुन्दा स्ट्रेटमै रहेको ज्वालामुखी टापुमा पर्दछ। सेप्टेम्बर महिनामा त्यहाँको मध्य टापु सुलावेसीमा शक्तिशाली भूकम्प आएपछि सुनामी पनि आएको थियो।
सो सुनामीले तटीय नगर पालुलाई पूरै प्रभावित पारेको थियो। सो विपद्मा परी दुई हजार जनाले ज्यान गुमाएका थिए।
इण्डोनेशियामा भूकम्प आइरहन्छ। किनभने उक्त देश रिङ् अफ फायर भनिने पूरै प्रशान्त महासागरको तटीय इलाकाहरूमै पर्दछ जहाँ एकदमै धेरै भूकम्प र ज्वालामुखी विस्फोटका घटना भइरहन्छन्।
इण्डोनेशियाको भूगर्भसम्बन्धी निकायका अनुसार शुक्रवार उक्त ज्वालामुखी दुई मिनेट १२ सेकेण्डसम्म विस्फोट भएको थियो।
त्यसबाट उत्पन्न खरानीयुक्त धुवाँको मुस्लो पहाडको ४ सय मिटर माथिसम्म पुगेको थियो।