सरकारले भेनेजुएला प्रकरणमा अमेरिकासँग सम्बन्ध नबिग्रेको दावी गरेको छ । बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेपाल-अमेरिकाबीच कुनै असमझदारी भएको भए पनि अन्त्य भइसकेको दावी गरेका हुन् ।
भेनेजुएलामा हालै भएको राजनीतिक घटनाक्रमबारे नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कडा अभिव्यक्ति दिएपछि अमेरिकाले यस विषयमा नेपाल सरकारको धारणा माग गरेको थियो ।
‘यस कुराले केही पनि बिग्रँदैन’, उनले थपे, प्रधानमन्त्रीले अमेरिकी राजदूतसँग भेटिसक्नुभएको छ । परराष्ट्रमन्त्रीले भेट्नुभएको छ । मिसअण्डरस्ट्याण्डिङ थियो अथवा पर्न गएको थियो भने पनि ठीक ठाउँमा आइसकेको छ ।’
मन्त्री बास्कोटाले यस विषय उठाइरहनु उचित नहुने जिकिर गरे । ‘हामीले अमेरिकालाई किटेर केही भनेका छैनौं । यसो गर्यो अमेरिकाले, उसो गर्यो अमेरिकाले भनेर केही भनेकै छैनौं’, मन्त्री बास्कोटाले भने, ‘सरकारको सम्बन्ध जहिले पनि मित्रवत छ । सद्भावको तहमा छ ।’