राष्ट्रपति विद्यादेवी भण्डारी सयुक्त राष्ट्रसंघीय आयोगको एक कार्यक्रममा सहभागी हुन अमेरिका आईपुग्नु भएको छ । उहा नेपाली समय अनुसार सोमबार साँझ सवा ६ बजेतिर न्युयोर्क आईपुग्नु भएको हो ।
उहालाई जोन अफ केनेडी अन्तराष्ट्रिय विमानस्थलमा अमेरिकाका लागि नेपाली राजदूतले स्वागत गर्नुभएको थियो । महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसंघीय आयोग (सिएसडब्ल्यू)को ६३औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्कतर्फ पुग्नु भएको छ ।
राष्ट्र संघको प्रधान कार्यालयमा आजबाट शुरु भई आगामी चैत ८ गतेसम्म सो अधिवेशन हुदैछ । अधिवेशनका क्रममा उहाँले फागुन २८ गते हुने ‘शक्तिमा नारी’ विषयको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्नुहुनेछ । नारी नेत्रीले ‘विश्वलाई कसरी परिवर्तन गर्छन्’ भन्ने विषयमा पनि राष्ट्रपतिले मन्तव्य दिने कार्यक्रम छ ।
राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पाल, राष्ट्रपति कार्यालयका विज्ञ लक्ष्मीकुमारी कार्की, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपतिको कार्यालयका सचिव विनोद केसी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव यामकुमारी खतिवडा तथा राष्ट्रपतिको कार्यालय, परराष्ट्र मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका वरिष्ठ अधिकारी हुनुहुन्छ ।