अमेरिकी चुनावमा रुसी ‘हस्तक्षेप’बारे मुलर प्रतिवेदन पेश

अमेरिकी चुनावमा रुसी ‘हस्तक्षेप’बारे मुलर प्रतिवेदन पेश
अमेरिका

सन् २०१६ मा अमेरिकामा भएको राष्ट्रपति चुनावमा रुसी ‘हस्तक्षेप’का बारेमा अनुसन्धान गरिरहेको विशेष काउन्सिल रोबर्ट मुलरको टिमले आफ्नो प्रतिवेदन पेश गरेको छ ।

राष्ट्रपति चुनावमा रुसी प्रभाव र राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानकाबीचमा साँठगाँठ रहेको आरोपबारे विशेष काउन्सिल मुलरको टोलीले अनुसन्धान गरेको हो ।

मुलरले महान्यायाधीवक्ता विलियम बारलाई प्रतिवेदन बुझाएका हुन् । महान्यायाधीवक्ता विलियमले अब प्रतिवेदनलाई संक्षेपिकरण गरी अमेरिकी काँग्रेसमा प्रस्तुत गर्ने अंशबारे निर्णय लिने बताइएको छ ।

मुलरको प्रतिवेदनमा कुनै पनि किसिमको गम्भीर आरोप नलाइएको न्याय विभागका अधिकारीलाई उद्धृत गर्दै सिएनएनले दिएको समाचारमा उल्लेख छ ।

विशेष काउन्सिल मुलरले राष्ट्रपति ट्रम्पका छ जना पूर्व सहयोगी तथा दर्जनौँ रुसी अधिकारीविरुद्ध यसअघि नै आरोप लगाउनुभएको थियो ।

महान्यायाधीवक्ता विलियमले काँग्रेसका नेतालाई पत्र लेखेर मुलरको प्रतिवेदनका मुख्य कुरा यहि सप्ताहन्तमा पेश गर्ने जनाउनु भएको छ । मुलरले २२ महिनापछि प्रतिवेदन पेश गर्नुभएको हो ।

Post Comment