मुलरको प्रतिवेदनको पर्खाइमा अमेरिकी सांसदहरु

मुलरको प्रतिवेदनको पर्खाइमा अमेरिकी सांसदहरु
अमेरिका

 अमेरिकी सांसदहरु आइतबार सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा रुसको साँठगाँठ बारे अनुसन्धान गर्न गठित छानबिन समितिको गोप्य प्रतिवेदनको पर्खाइमा थिए । यो प्रतिवेदनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पद नै धरापमा पार्ने खतरा रहेको अनुमान पनि गरिएको छ ।

महान्यायाधीवक्ता विलियम बारले अमेरिकी कङ्ग्रेस र आमजनतालाई प्रतिवेदनको मुख्य अंश उपलब्ध गराउने अपेक्षा गरिएको छ । यो प्रतिवेदन २२ महिना लगाएर विशेष अनुसन्धाता रोबर्ट मुलरले तयार पार्नुभएको हो ।

बारले शनिबार प्रतिवेदन अध्ययन गर्न नौ घण्टा बिताउनुभएको थियो । उहाँले भन्नुभएको थियो, प्रतिवेदनको मुख्य सार सप्ताहान्तमा सार्वजनिक गरिनेछ । ट्रम्प र उहाँको भित्री घेरामा रहेर कार्य गर्ने व्यक्तिहरुले प्रतिवेदन हस्तान्तरण गर्नुअघि मुख्य अनुसन्धाता मुलरले दोषारोपण नगरेकामा खुशी मनाएका छन् ।

अमेरिकी संविधानमा राष्ट्रपतिमाथिको छानबिन प्रतिवेदन महान्यायाधीवक्ताले अध्ययन गरेपछि मात्र सार्वजनिक गर्ने प्रावधान छ । महान्यायाधीवक्ता बारले प्रतिवेदनलाई जतिसक्दो चाँडो र पूर्ण पारदर्शिताका साथ सार्वजनिक गर्ने बताउनुभएको छ ।

मुलर स्वयंले भने प्रतिवेदनका बारेमा केही बताउनुभएको छैन । अमेरिकी समाजमा मुलरको प्रतिवेदनलाई लिएर विभिन्न अडकलबाजी गरिएका छन् ।

केहीले मुलरको रहस्यमयी प्रतिवेदनले राष्ट्रपति ट्रम्पलाई सफाइ दिएको अनुमान गरेका छन् । तर कतिपयले सङ्घीय जाँच ब्यूरोका तत्कालीन निर्देशक जेम्स कोमेलाई सन् २०१७ मा एकाएक बर्खास्त गरी राष्ट्रपतिले सबैतिर हस्तक्षेप गरेको र न्यायमा अबरोध गरेको दाबी गरेका छन् । उनीहरुको विश्वास छ, छानबिन कार्य मुलरको प्रतिवेदनमा मात्र सीमित हुने छैन, थप अनुसन्धानको ढोका यस प्रतिवेदनले खोल्नेछ ।

मुलरले यसअघि ट्रम्पको चुनावी अभियानमा संलग्न ३४ जना र तीन वटा कम्पनीमाथि फौजदारी अभियोग दर्ता गरिसक्नुभएको छ । ट्रम्पका पूर्व चुनाव प्रचार प्रमुख पल म्यानाफोर्ट र पूर्व निजी वकील माइकल कोहेनलाई जेल सजाय गरिएको छ ।

तर ट्रम्पको चुनावी अभियान र मस्कोबीच प्रत्यक्ष सहकार्य भए नभएको प्रश्नका बारेमा हालसम्म कसैलाई दोषी ठहर्याइएको छैन । सङ्घीय जाँच ब्यूरो (एफबीआई) का पूर्व निर्देशक मुलरले अनुसन्धानका सिलसिलामा राष्ट्रपति ट्रम्पसँग अन्तरवार्ता लिनुभएको थिएन । बरु, रुससँगको सम्बन्धका बारेमा ट्रम्पले केही प्रश्नको लिखित जवाफ दिनुभएको थियो ।

जनवरी २०१७ मा राष्ट्रपति ट्रम्पले राष्ट्रपतिको पद सम्हाले लगत्तै अमेरिकी गुप्तचर निकायहरुले चुनावी अभियानका क्रममा इमेल ह्याकिङको कार्यमा रुसको संलग्नता रहेको निष्कर्ष निकालेका थिए । रुसीहरुले अनलाइन प्रचारबाजी गरी अमेरिकी समाजमा घृणा र द्वन्द्व फैल्याउन भूमिका खेलेको पनि दाबी गरिएको थियो । रुसीहरुको यस्तो कार्यले राष्ट्रपतिमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार भएकी हिलारी क्लिन्टनलाई ठूलो क्षति पुगको थियो ।

रुसले भने अमेरिकी चुनावमा कुनै हस्तक्षेप नगरेको दाबी गर्दै आएको छ ।

राष्ट्रपति ट्रम्पले यसअघि मुलरको छानबिन प्रति तिब्र रोश प्रकट गर्दै आउनुभएको थियो । ह्वाइट हाउसका एकजना प्रवक्ता होगान गिड्लेले संवाददाताहरुसँग कुरा गर्दै ह्वाइट हाउसले मुलरको प्रतिवेदन प्राप्त नगरेको वा प्रतिबेनमा समेटिएका विषयका बारेमा कुनै जानकारी नदिइएको बताउनुभयो ।

अमेरिकी कङ्ग्रेसका डेमोक्र्याट सांसदहरुले मुलरको पूर्ण प्रतिवेदन र यससँग जोडिएका अन्य दस्तावेजहरु सार्वजनिक गर्न आग्रह गरेका छन् । डेमोक्र्याट पार्टीले मुलरको प्रतिवेदनमा जे भनिए पनि राष्ट्रपतिमाथिको छानबिनलाई निरन्तरता दिने बताएको छ ।

Post Comment