लगानी सम्मेलनको दोस्रो दिन आज विभिन्न सत्रमा छलफल गरिँदै छ । आज पूर्वाधार विकास, अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान र नेपालमा लगानीका बारेमा छलफल हुने जनाइएकाे छ ।
छलफलपछि सरकारले १२ वटा विभिन्न आयोजनामा लगानी सम्झाैता (एमओयू) समेत गर्नेछ । हिजो दिनभर पनि उद्घाटन सत्रपछि आयोजित प्लेनरी सत्रमा उर्जा, जलश्रोत मन्त्री तथा परराष्ट्रमन्त्रीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई लगानी गर्न आग्रह गरेका थिए ।
आज विदेशी लगाननीकर्ताद्वारा लगानी प्रस्ताव आएका १२ वटा आयाेजना/परियाेजनामा एमओयू गरिँदै छ । यसपछि ती आयाेजनाहरु सम्बन्धित लगानीकर्ताका लागि सरकारले ‘रिजर्भ’ गर्नेछ । तमोर स्टोरेज हाइड्रोइलेक्ट्रिक र कालगण्डकी गोर्ज परियोजनामा चाइनिज कम्पनीले लगानीको लागि आवेदन दिने भएर रिजर्भ गर्न भएका छन् । यी दुवै आयाेजनाकाे लागत अनुमान क्रमश: १ अर्ब ६५ करोड र २६ करोड ९० लाख रहेकाे छ ।
यसैगरी चाइनिज कम्पनी चाइना मेसिनरी इन्जिनियरिङले २६ करोड ५० लाख लागत अनुमान गरिएको सामाखुशी–टोखा–छहरे सडककाे लगानी सम्झाैता समेत हुने बताइएकाे छ ।
उता भारतीय कम्पनीले तल्लो अरुण जलविद्युतमा लगानीका लागि आवेदन दिने जनाइएको छ । यसकाे लागत अनुमान १ अर्ब ३० करोड रुपैयाँ रहेकाे छ । यी लगायत अन्य एक दर्जन लगानीकर्तासँग आजै एमआेयू हुनेछ ।
हिजोदेखि सुरु भएको लगानी सम्मेलनले ३० खर्ब भन्दा बढी रकम जुटाउने अठोट लिएको छ । यसका लागि सरकारले दुईदिनसम्म लगानीकर्ताहरुलाई सम्मेलनमा विश्वास लिने कसरत गरेको छ ।
कुल ७७ परियोजना तयार गरेर शाेकेस गरिएकाे सम्मेलनमा ६०० भन्दा बढी विदेशीसहित एक हजार लगानीकर्ताको सहभागिता छ ।
प्रधानमन्त्रीस्तरबाट सम्मेलनको पहिलो दिनको सुरुमै लगानीकर्ता सामु लगानी सुरक्षाको वाचा गरिएकाे थियाे ।
लगानी बोर्डका अनुसार लगानी कुनै पनि परियोजनामा लगानी गर्ने इच्छा राख्ने लगानी कर्ताले लगानी बोर्डको वेबसाइडमा राखिएको अनलाइन फर्म भर्नु पर्नेछ । अनलाइन फर्मका लागि शुल्क १० हजार ताेकिएकाे छ ।