पशुपतिको ढोकाबाहिर नाच्न नपाएको तीजका ब्रतालुको गुनासो

समाचार

१९ भदौ, काठमाडौं । आराध्यदेव पशुपतिनाथको दर्शन गर्न पुगेका तीजका ब्रतालुहरुले यसपटक मन्दिरको मूल प्रवेशद्वार बाहिर नाचगान गर्न रोकिएको गुनासो गरेका छन् ।

पानी झरीको समेत पर्वाह नगरी लाइन बसेर पशुपतिनाथको दर्शन गरेर फर्किएका ब्रतालुले मूलढोका अगाडि एकछिन जम्मा भएर नाच्न समेत प्रहरीले रोक लगाएको गुनासो गरेका हुन् ।

पशुपति विकास कोषले भने लाइन सहज रुपमा अघि बढोस् र भिडभाड नहोस् भनेर रोक लगाइएको जनाएको छ । केही महिलाहरु नाच्न खोज्नेबित्तिकै सुरक्षाकर्मीहरुले त्यहाँबाट हटाउने गर्दथे ।

विकास कोषका सदस्य सचिव गोविन्द टण्डनले नाचगान गर्ने ब्रतालुहरुलाई मन्दिरको पश्चिमपट्टकिो प्रांगणमा व्यवस्था गरिएको बताए । ‘दर्शन गरेर फर्किएपछि पश्चिमतिर नाँच्न गाउने व्यवस्था गरिएको छ,’ उनले अनलाइनखबरसँग भने ।

बिगतका वर्षमा लाइनमा बसिरहेका र लाइन वरिपरि पनि साना-साना समूह बनाएर नाचगान हुन्थ्यो । तर यसपटक लाइन सहज रुपमा अघि बढोस् भनेर यस्तो व्यवस्था गरिएको हो ।

पशुपति क्षेत्रका सुरक्षामा खटिएका प्रहरी र विकास कोषका अनुसार मध्यान्ह १२ बजेसम्म साढे तीन लाख ब्रतालुले पशुपति नाथ मन्दिरको दर्शन गरिसकेका छन् । लाइनमा प्रत्येक घण्टा ३० हजार महिला जोडिएको प्रहरीले जनाएको छ ।

ब्रतालुहरुको दर्शनका लागि पशुपतिका तीनओटा ढोका विहान ३ बजे नै खुला गरिएको थियो भने पूर्वी ढोका विहान ८ बजे खोलिएको थियो । विशेष पूजा गर्नेहरु शुल्क तिरेर पूर्वी ढोकाबाट प्रवेश गरेका छन् ।

यसपटक पशुपति विकासले बिभिन्न संघ संस्थालाई स्वयंसेवक खटाउने जिम्मा दिएन । सुरक्षाको सम्पूर्ण जिम्मा र लाइन मिलाउने काममा सुरक्षाकर्मी परिचालित भएका छन् ।

यसैबीच हरितालिका तीजको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी साँझ ६ बजे पशुपतिनाथमा आउने जानकारी प्राप्त भएको कोषले जनाएको छ । त्यस्तै प्रधानन्यायाधीश सुशीला कार्की पनि पशुपति जाँदैछिन् ।

onlinekhabar बाट