नेपालको तराई क्षेत्रको मौलिक संस्कृति, धार्मिक आस्था, पौराणिक महत्व झल्काउने उद्देश्यले विश्वको राजधानी मानिने अमेरिकाको न्युयोर्कमा पहिलो पटक मिथिला महोत्सव आयोजना गरिएको छ ।
प्रकृति, नारीको सौन्र्दय, मौसम परिर्वतन, प्रकृतिमा परेको नकारात्मक प्रभाव, दैविक आस्था, जैविक विविधता, कला संस्कृति, नेपाली रहनसहन, पर्यटन विकास, वैवाहिक प्रचलन, पाहुनालाई गरिने स्वागत लगायत संदेशमुलक चित्र राखेर यस्तो महोत्सवको आयोजना गरिएको हो ।
महोत्सवमा विश्वभरका मानिसले अवलोकन गरेर नेपाल तथा विशेषगरी तराई क्षेत्रलाई बुझ्ने अवसर पाएका छन् । यस महोत्सवलाई अवलोकन गर्न अहिलेसम्म करिव १२ भन्दा बढी देशका राजदूत समेत त्यहाँ पुगेर नेपाललाई चित्रमा नियालेका छन । नेपालको भ्रमण वर्ष सफल बनाउन तथा धार्मिक तथा सांस्कृतिक पर्यटकीय क्षेत्रका रुपमा चर्चित जनकपुर क्षेत्रको विकासमा टेवा पुर्याउन यस्तो महोत्सवको आयोजना गरिएको हो ।
महोत्सवको उद्घाटन गर्न जनकपुरधाम उपमहानगरपालिका मेयर लालकिशोर शाह न्युयोर्क आइपुग्नुभएको थियो । उहाँले नेपालीहरुले नेपालको मौलिक कला संस्कृतिको संरक्षण गरेको खुसी व्यक्त गर्दै यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
आयोजक संस्थाका कार्यकारी निर्देशक अमित शाहले देशको मौलिकता विश्व समुदायलाई चिनाउन यस्तो कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । बिगत ३१ वर्षदेखि मिथिला आर्ट गर्दै आउनु भएका अजितकुमार शाहले मिथिला महोत्सवले विशेषगरी तराई क्षेत्रको मौलिकता र संस्कृति संरक्षण गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
संयुक्त राष्ट्र संघका लागि स्थायी नियोगका प्रमुख अमृतबहादुर राईले विदेशमा यस्ता मेला महोत्सवको आयोजना हुनु आफैँमा गौरवको विषय भएको र यसले सांस्कृतिक पर्यटन विकासमा टेवा पुग्ने विश्वास लिनुभयो ।
संयुक्त राष्ट्र संघका लागि स्थायिनियोग र मिथिला आर्ट एण्ड कल्चर सेन्टरको संयुक्त आयोजना भएको महोत्सव न्युयोर्कमा पाँच दिनसम्म चल्नेछ ।
नारी विकास केन्द्रका महिला कलाकारहरुका १७ वटा र कलाकार अजित शाहका १३ वटा कला कृति प्रर्दशनका लागि महोत्सवमा राखिएको छ । महोत्सवमा राखिएका चित्रहरु अधिकांश संयुक्त राष्ट्रसंघको दिर्घकालिन विकास लक्ष्यसँग सम्बन्धित छन् ।