सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसको आरोपित हस्तक्षेप बारेको बहुप्रतीक्षित छानबिन प्रतिवेदनले राष्ट्रपति डोनल्ड ट्रम्पले अनुसन्धानलाई रोक्न पटक-पटक प्रयास गरेको र विशेष अनुसन्धानकर्ता रोबर्ट म्युलरलाई हटाउन चाहेको देखाएको छ।
अनुसन्धानले आफ्नो कार्यकालको अन्त्य गराउन सक्ने ट्रम्पको विश्वास रहेको पनि प्रतिवेदनले खुलासा गरेको छ।
ट्रम्पको चुनावी अभियान र रुसबीच साठगाँठ भएको भन्नेबारे कुनै प्रमाण नभेटिएको म्युलरले बताएका छन्, तर न्याय प्रक्रियामा अवरोध पुर्याउने काम गरिएको थियो वा थिएन भन्ने खुला प्रश्न प्रतिवेदनले छाडिदिएको छ।
म्युलरले भनेका छन्, उनको प्रतिवेदनले राष्ट्रपतिले न अपराध गरेको फेला पारेको छ न उनलाई सफाइ नै दिएको छ।
अमेरिकी महान्यायाधिवक्ताले सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा रुसी साठगाँठ भएको भन्नेबारे विशेष अनुसन्धानकर्ता म्युलरले त्यसमा कुनै अमेरिकी वा ट्रम्प अभियानका कोहीले पनि षड्यन्त्र गरेको वा मिलेमतो गरेको कुनै प्रमाण फेला नपारेको बताएका छन्।
म्युलर प्रतिवेदन सार्वजनिक गर्नुअघि महान्यायाधिवक्ता विलियम बारले एउटा पत्रकार सम्मेलन गरेका थिए।
उनले भने, “विशेष अनुसन्धानकर्ताले रुसी साठगाँठमा ट्रम्पको चुनावी अभियानमा जोडिएका कसैसँग मिलेर अमेरिकी कानुन तोड्ने कुनै षड्यन्त्र भएको प्रमाण फेला पारेनन्।”
बारले उक्त चुनावमा डेमोक्र्याटिक पार्टीकी उम्मेदवार हिलरी क्लिन्टनका इमेल विकिलिक्स वेबसाइटमा प्रकाशन गर्नुमा ट्रम्प अभियानका कसैको पनि गैरकानुनी भूमिका भएको प्रमाण नभएको बताए।
डेमोक्र्याटहरूले म्युलर प्रतिवेदनले औँल्याएका तथ्यहरू राष्ट्रपति ट्रम्पको बेहोराबारे गम्भीर आरोप भएको बताएका छन्।
हाउस अफ रेप्रेजेन्टेटिभ्सको गुप्तचर समितिका प्रमुख एडम स्किफले राष्ट्रपति बेइमान, आचरणहीन, अनैतिक र देशभक्त नभएको आरोप लगाए।
ट्रम्पले अमेरिकी जनतासामु पटक पटक झूटो बोलेको र आफ्ना वरिपरिका मानिसहरूलाई पनि त्यसै गर्न लगाएको पनि स्किपले बताए।
न्यायको पक्षमा नभई ट्रम्पको पक्षमा काम गरेको भन्दै वरिष्ठ डेमोक्र्याटहरूले महान्यायाधिवक्ता विलियम बारको पनि कडा आलोचना गरेका छन्।