‘इरानले अभूतपूर्व दबाब खेपिरहेको छ’

‘इरानले अभूतपूर्व दबाब खेपिरहेको छ’
समाचार

अन्तर्राष्ट्रिय आर्थिक प्रतिबन्धका कारण इरान अभूतपूर्व दबाबमा परेको राष्ट्रपति हसन रुहानीले बताएका छन्।

रुहानीका अनुसार अमेरिकाले कडा तुल्याएको आर्थिक प्रतिबन्धका कारण उत्पन्न आर्थिक अवस्था सन् १९८० देखि १९८८ सम्म चलेको इरान-इराक युद्धताकाको भन्दा खराब भएको छ।

तनावपूर्ण

गत साता अमेरिकाले खाडीमा लडाकू पानीजहाज तथा युद्धपोत खटाएपश्चात् इरान र अमेरिकाबीचको सम्बन्ध थप तनावपूर्ण बनेको छ।

राष्ट्रपति रुहानी देशभित्र निकै राजनीतिक दबाबमा छन्। उनले आर्थिक प्रतिबन्धसँग जुध्न देशभित्र राजनीतिक एकताको आह्वान गरेका छन्।

“युद्धका बेला हाम्रा सामु ब्याङ्क वा तेल विक्री वा आयात/निर्यातको समस्या थिएन। केवल हतियार किन्नका लागि प्रतिबन्ध थियो,” राजधानी तेहरानमा राजनीतिक अभियानकर्मीहरूसँग बोल्दै रुहानीले भने।

“दुश्मनहरूले दिएको दबाब हाम्रो इस्लामिक क्रान्तिको इतिहासमै अभूतपूर्व स्तरको छ …. तर म विचलित छैन। हाम्रो भविष्यप्रति ठूलो आशा छ। यदि एकीकृत हुने हो भने हामी यी कठिन अवस्थाबाट पार पाउन सक्छौँ भन्ने मलाई विश्वास छ,” उनले भने।

अमेरिका र इरानबीच तनाव चर्किएका कारण सन् २०१५ मा गरिएको महत्त्वपूर्ण परमाणु सम्झौताको भविष्यमाथि प्रश्न चिन्ह उठेको छ। त्यतिखेर इरानले संयुक्त राष्ट्रसंघका पाँच स्थायी सदस्य तथा जर्मनीसँग उक्त सम्झौता गरेको थियो।

तर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत वर्ष अमेरिकालाई सो सम्झौताबाट अलग्ग्याए।

अमेरिकाले आर्थिक प्रतिबन्ध पुन: लगाएपछि इरानले अन्य देशले पनि प्रतिबन्धमा अमेरिकालाई साथ दिए उसले परमाणु गतिविधि फेरि जारी राख्ने सङ्केत दिएको छ।

इरानले झेलिरहेका दबाब कस्ता छन्?

अमेरिकाले उनको सरकारसँग टुङ्ग्याएको परमाणु सम्झौताबाट हात झिकेपछि इरानभित्र कट्टरपन्थीहरूको तीव्र दबाब राष्ट्रपति रुहानीमाथि परेको छ।

उक्त सम्झौता बमोजिम इरानले सम्वेदनशील परमाणु गतिविधि सीमित पार्न र प्रतिबन्धबाट राहतको बदलामा अन्तर्राष्ट्रिय निरीक्षकलाई अनुमति दिन सहमति जनाएको थियो।

अमेरिकी प्रतिबन्धका कारण इरानको तेल निर्यात निकै प्रभावित भएको छ भने विदेशी लगानी रोकिएका छन्।

प्रतिबन्धका कारण अमेरिकी कम्पनीहरूले इरानसँग प्रत्यक्ष कारोबार गर्न पाउँदैनन्। साथै, उनीहरूले इरानसँग कारोबार गर्ने कुनै पनि विदेशी कम्पनी वा सरकारसँग समेत कारोबार गर्न पाउँदैनन्।

अन्तर्राष्ट्रिय मुद्रा कोषले भनेको छ सन् २०१९ मा इरानको अर्थतन्त्र ६ प्रतिशतले सङ्कुचित हुन सक्छ।

तर त्यो अनुमान गरेपछिको समयमा अमेरिकाले प्रतिबन्ध थप कडा पारिदिएको छ।

उसले इरानसँग तेल किन्नलाई चीन, भारत, जापान, दक्षिण कोरिया तथा टर्कीलाई दिएको छूट अन्त्य गरिदिएको छ।

साथै, गत महिना अमेरिकाले इरानको रिभोल्युसनरी गार्ड कोरलाई विदेशी आतंककारी समूह भनी घोषणा गरिदियो।

अमेरिकी कदमहरूको बदलास्वरूप आफूले स्ट्रेट अफ होर्मुज भनिने समुद्री मार्ग थुनिदिने धम्की इरानले दोहोर्‍याएको छ।

विश्वभर उपभोग हुने कुल तेलको पाँच भागको एक भाग सोही मार्ग भएर ओसारपसार गरिन्छ।

Post Comment