विकिलिक्सका संस्थापक जुलिअन असान्जमाथि सन् २०१० मा गोप्य सैन्य तथा कूटनीतिक दस्तावेज प्रकाशित गरेर अमेरिकाको जासुसी कानुन तोडेको अभियोगहरू लगाइएको छ।
यसअघि असान्जमाथि केवल कम्प्युटर ह्याकिङको अभियोग लगाइएको थियो।
तर अमेरिकी कानुन मन्त्रालयले अब उनीविरुद्ध विस्तृत र व्यापक अभियोग लगाएको छ। उनीमाथि १७ वटा नयाँ अभियोग लगाइएका छन्।
जसमध्ये भूतपूर्व सैन्य गुप्तचर अधिकृत चेल्सी म्यानिङलाई गोप्य दस्तावेज चोर्न सघाएको अनि गोप्य अमेरिकी सूत्रहरूलाई उनीहरूको नाम सार्वजनिक गरेर खतरामा पारिदिएको जस्ता आरोप छन्।
पहिला धरौटीमा छुटेपछि अदालतमा मुद्दा खेप्न नआएको हुनाले अहिले उनलाई जेलमा राखिएको छ।
स्वीडनमा यौन दुर्व्यवहारको मुद्दा चलिरहेका बेला उनले सन् २०१२ मा लन्डनस्थित एक्वेडोरको दूतावासमा शरण लिएका थिए। आफूमाथि लागेका ती अभियोगलाई भने उनले सधैँ अस्वीकार गर्दै आएका छन्।
एप्रिल ११ मा एक्वेडरको दूतावासबाट प्रहरीले उनलाई पकराउ गरेको थियो।
अमेरिकाले कस्ता अभियोग लगाएको छ?
नयाँ अभियोगमा असान्जले सन् २०१० मा जासुसीसम्बन्धी अमेरिकी कानुनको उल्लङ्घन गर्दै गोप्य सैन्य तथा कूटनीतिक दस्तावेज चुहाएको बताइएको छ।
त्यसमा भनिएको छ- असान्जले बारम्बार गोप्य सूचनामा पहुँच हुने स्रोतहरूलाई त्यसको चोरी गर्दै विकिलिक्ससम्म पुर्याउन उक्साएका थिए।
जब म्यानिङले त्यस्ता विवरणहरू दिन सुरु गरिन् “असान्जले त्यसलाई निरन्तरता दिन उक्साउन थाले। उनले सैन्य कम्प्युटरको पासवर्ड चोर्न पनि सघाउने” बताए।
असान्जले “मानव स्रोतहरूको नाम खुलाउँदै मानवजीवनप्रति गम्भीर र तत्कालीन खतरा सिर्जना गराए”। जसमा स्थानीय अफगान, इराकी, चिनियाँ र इरानीहरू समेत थिए।
यी अभियोगहरू पुष्टि भए पाँचदेखि १० बर्षसम्मको जेल सजाय हुन सक्छ। अर्थात् दोषी ठहरिएमा असान्जले धेरै दशकको कारावास झेल्नुपर्ने हुन सक्छ।
उक्त घोषणापछि विकिलिक्सले ट्वीट गर्दै भनेको छ – यो पागलपन हो। यो राष्ट्रिय सुरक्षा पत्रकारिता र स्वतन्त्र अभिव्यक्तिको सुनिश्चितता गरेको त्यसको पहिलो संशोधनको अन्त्य हो।
संवाददाताहरूको भनाइमा अभियोगहरूबारे अस्वाभाविक कुरा चाहिँ के हो भने गोप्य सूचना चोरिएका भनिएका धेरैजसो मुद्दाहरूले त्यसलाई प्रकाशित गर्नेहरूलाई नभई सरकारी कर्मचारीहरूलाई निसानामा पारेका छन्।
सहायक महान्यायाधिवक्ता जोन डेमर्स भन्छन् – आफ्ना निकायले ‘प्रजातन्त्रमा पत्रकारको भूमिकालाई गम्भीर रूपमा लिएको छ’ तर असान्ज ‘पत्रकार’ थिएनन्।
“वास्तवमा कुनै पनि जिम्मेवार पत्रकारिताले युद्ध क्षेत्रमा आफूले चिनेका स्रोतहरूका नामहरू उनीहरूलाई खतरामा धकेल्नेगरी नियतवश सार्वजनिक गर्दैन,” उनी थप्छन्।
उनको अवस्था के छ?
अस्ट्रेलियामा जन्मिएका असान्ज अहिले लन्डनको जेलमा छन्। स्विडिश अधिकारीहरूले समेत सन् २०१० मा उनीविरूद्ध लगाइएका बलात्कार अभियोगको अनुसन्धान पुन: खोलेर उनको सुपुर्दगी खोजिरहेका छन्।
कुन देशको अनुरोधलाई प्राथमिकतामा राख्ने भन्ने निर्णय चाहिँ ब्रिटेनका गृहमन्त्री साजिद जाभिदले लिनेछन्।
“जाभिदमाथि ‘स्वतन्त्र प्रेसको अधिकारलाई ब्रिटेन र अन्यत्र संरक्षण गर्नेबारे तीव्र दबाव छ,” विकिलिक्सले भनेको छ।