गत हप्ता शुक्रबारदेखि पर्दशनमा आएको नेपाली चलचित्र “जात्रैजात्रा” को टोलीले पोखरा भिजिट गरेको छ । प्रदर्शन समयको दोस्रो हप्तामा चलिरहेको उक्त चलचित्रका निर्देशक प्रदिप भट्टराई, निर्माता एवम कलाकार रविन्द्रसिङ बाँनिया, नायिका वर्षा राउत, बाल कलाकार अरबिन खड्का लगायतले भिजिट गरेका हुन् ।
उनिहरुले पोखराको श्रीकृष्ण हल, विन्दवासिनी हल, सिनेपेलेक्स र मिडटाउनमा दर्शकहरुसँग साक्षत्कार गरे । दर्शक र समिक्षकको नजरमा राम्रो बन्दै गईरहेको “जात्रैजात्रा” टोली यतिबेला देशविदेशको टुरमा निस्केको हो ।
उक्त टोलीले पोखराका सञ्चारकर्मीहरु सँग पनि भेटघाट गरेको छ । शनिबार पोखरामा चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको भेटघाट कार्यक्रममा चलचित्रका निर्माता एवम कलाकार रविन्द्र सिङ बानियाले राम्रो चलचित्रको प्रचारप्रसार पनि राम्रोनै हुनुपर्ने बताए । “दर्शकले अपेक्षा गरेको चलचित्र बनाएका रहेछौ, खुशी छौ”—उनले भने ।
पोखरा र जात्रैजात्राको सम्बन्ध अटुट उल्लेख गर्दै चलचित्रको विहिबार सम्मको ग्रस कलेक्सन ४ करोड ५३ लाख रहेको रविन्द्रले जानकारी गराए ।
चलचित्रका निर्देशक प्रदिप भट्टराईले फिल्म मेकरमा इमान्दारिता भए त्यो काममा पनि देखिने बताए । एक पछि अर्को चलचित्र निर्देशन गरि सफलता पाएका भट्टराईले जुनसुकै चलचित्र निर्माण गर्दा पनि इमान्दारी पूर्वक निर्माण गरिनुपर्ने उल्लेख गरे ।
उनका अनुसार नेपाली चलचित्र क्षेत्रमा हाँस्नेरुने चलचित्र बढि आएका छन् तर आनन्द दिने चलचित्र कम बनिरहेका छन् । अब दर्शकलाई आनन्ददिने चलचित्र निर्माण हुनुपर्ने उनको धारणा थियो । निर्देशक भट्टराईले अब सिक्वेल नबन्ने बताएका छन् । “सिक्वेल चलचित्र बनाउन महाभारत बनाए जस्तै हुँदोरहेछ, अब सिक्वेल बन्दैन: उनले भने ।”
पोखराले सधै आफु र आफ्नो कामलाई माया गरेको बताउदै भट्टराईले आगामी समयमा पनि नेपाली दर्शकले अपेक्षा गरिरहेकै चलचित्र निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । पत्रकार भेटघाट कार्यक्रममा वर्षा राउत भने अनुपस्थित थिईन् । चलचित्रका मूख्य पात्र विपिन कार्की अस्वस्थताका कारण पोखरा आउन नपाएको चलचित्र युनिटले बतायो ।