चन्द्रसूर्यसहितको राष्ट्रिय झन्डा अंकित नेपालको पहिलो भूउपग्रह ‘नेपालीस्याट–वान’ अन्तरीक्षमा छोडिएको छ । अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्र (आइएसएस)बाट सो नानो भूउपग्रह अन्तरीक्षमा छोडिएको हो ।
नेपालको पहिलो नानो भूउपग्रह जापानको क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक)मा अध्ययन गर्दै आएका नेपाली विद्यार्थी आभाष मास्केसहितको टोलीले निर्माण गरेको हो । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नास्टका प्रविधिक हरिराम श्रेष्ठ पनि यो परियोजनामा संलग्न छन् । नेपालीसहित जापान र श्रीलंकको पनि नानो भूउपग्रह अन्तरिक्षमा छाडिएको छ ।
अन्तरीक्षमा छोडेसँगै नेपालीस्याट–वानले पृथ्वीको परिक्रमा गर्न थालेको छ।
बैशाख ५ मा अमेरिकाको भर्जिनिया, वल्लोप्स द्विपस्थित नासाको अर्बिटल एटिके प्रक्षेपण केन्द्रबाट नेपालस्याट–वान अन्तरीक्षमा पठाइएको थियो ।
१० सेन्टिमिटर लामो, १० सेन्टिमिटर चौडा र १० सेन्टिमिटर अग्लो भूउपग्रह १ किलो ३३० ग्रामको छ । नेपाल वान भूउपग्रह पृथ्वीका सतहभन्दा चार सय किलोमिटरमाथि अन्तरिक्षमा रहनेछ ।
प्रत्येक ९० मिनेटमा पृथ्वीका एक चक्कर लगाउने यो भूउपग्रहले दैनिक १६ पटक पृथ्वीका परिक्रमा गर्नेछ । त्योमध्ये दैनिक चार पटक नेपालको आकाशमा आइपुग्नेछ ।
नेपालका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालको पहिलो नानो भूउपग्रह अन्तरीक्षमा छोड्ने अवसरमा जापानमा आयोजित कार्यक्रममा सहभागिता जनाएका छन् ।
नानो भूपग्रहमा फोटो खिच्न क्यामेरा जडान गरिएको छ । जसले अन्तरिक्षबाट खिचिएको फोटोहरु अध्ययन एवं प्रचारका लागि सञ्चार माध्यहरुलाई उपलब्ध गराउनेछ । दोस्रो लोरा डेमोस्ट्रेसन मिसनको काम गर्नेछ ।
अन्य संस्थाले बनाएको उपकरणमा कम ऊर्जामा कसरी सञ्चार गर्ने भनेर यसबाट परीक्षण हुनेछ । यो अध्ययन सफल भए भविष्यमा प्राकृतिक प्रकोपका बेला थोरै ऊर्जामा सञ्चार गर्न सक्ने गरी नयाँ प्रविधिको विकास हुनेछ । अन्तरीक्षमा नेपालीस्याट-वानको आयु ६ महिनादेखि एक वर्षसम्म हुने अनुमान छ ।