विद्युतीय चुरोट उत्पादनमा प्रतिबन्ध लगाउँदै अमेरिका

विद्युतीय चुरोट उत्पादनमा प्रतिबन्ध लगाउँदै अमेरिका
अमेरिका

संयुक्तराज्य अमेरिकाले सुगन्धित विद्युतीय चुरोट (ई–चुरोट)को सेवनबाट स्वास्थ्य जोखिम बढेको भन्दै त्यस्ता वस्तुको उत्पादनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

खासगरी किशोरहरुबीच निकै लोकप्रिय भइरहेको यस चुरोटले फोक्सोमा समस्या आउने गरेको अध्ययनहरुले देखाएका छन् ।

सुगन्धित ई–चुरोटको कुलतमा फसेका किशोर किशोरी युवावस्थामा पुगेपछि सूर्तिजन्य ई–चुरोट सेवन गर्नेतर्फ उत्प्रेरित हुन सक्ने देखिएको छ । पछिल्ला केही अध्ययनले सुगन्धित ई–चुरोटको सेवनकै कारण पनि बालबालिकाको मृत्यु हुने गरेको पाइएको छ ।

ह्वाइट हाउसमा संवाददाताहरुसँग कुरा गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू र प्रथम महिला मेलानीया ट्रम्प ई–चुरोटको कुलतमा फसेका कारण फोक्सोको गम्भीर बिरामी भएका एक किशोरका बाबुआमाको कथा सुनेर निकै भावुक भएको बताए ।

“हामी दुबैले ती किशोरको व्यथा पढेका छौं,” उनले भने “हामीजस्तै धेरै मानिसले यो कथा पढेका छन्, र यसको सेवनबाट मानिसहरुको ज्यान गइरहेको छ ।”

ई–चुरोटको नियमन गर्ने एफडीए अमेरिकाको शक्तिशाली सरकारी निकाय हो । त्यस अवसरमा स्वास्थ्यमन्त्री अजरले आगामी साता ई–चुरोटका बारेमा नयाँ नियमहरु ल्याइने बताए ।

सूर्तीको स्वाद भएका बाहेक अरु सबै किसिमका सुगन्धित ई–चुरोट बजारमा अब बेच्न पाइने छैन, उनले भने । उनका अनुसार यसका लागि व्यवसायीलाई ३० दिनको समयावधि दिइने छ ।

सन् २०१९ मै गरिएको एक अध्ययनमा माध्यमिक तहमा अध्ययन गर्नेमध्ये एक तिहाई विद्यार्थीले सुगन्धित ई–चुरोट सेवन गर्ने गरेको देखिएको छ ।

अधिकांश सेवनकर्ताले फलफूल, मेन्थोल वा मिन्ट (पुदिना)को स्वाद भएका ई–चुरोट रुचाएका थिए ।

तत्कालका लागि सूर्तीको स्वाद भएका ई–चुरोटमा प्रतिबन्धहरु नलगाए पनि २०२० को मेदेखि उत्पादकहरुले एफडीएबाट स्वीकृति लिनु पर्नेछ ।

उक्त समाचार सार्वजनिक भएलगत्तै अमेरिकामा च्याउ उम्रिएझैं फैलिएका ई–चुरोट उत्पादकमा छटपटी भएको छ । ग्रान्ड भ्यू रिसर्चका अनुसार सन् २०१८ मा विश्वभर १० अर्ब २० करोड मूल्य बराबरको ई–चुरोट उत्पादन भएको थियो ।

एफडीएको सर्वेक्षणमा समेटिएका ई–चुरोट सेवनकर्तामध्ये ४५० जनाभन्दा बढीले आफूहरु बिरामी परेको बताएका थिए । उनीहरुले आफूहरुलाई श्वास फेर्न कठिन भएको र छाती दुखेको जनाएका थिए । कतिपयलाई अस्पतालमा भर्ना गर्नु परेको थियो भने केहीलाई भेन्टिलेटरमा राख्नु परेको थियो ।

Post Comment