नेपाल आइडलको अडिसन मंगलबार पोखरामा, तयारी पूरा

नेपाल आइडलको अडिसन मंगलबार पोखरामा, तयारी पूरा
मनोरन्जन

अन्नपूर्ण मिडिया नेटवर्क प्रालि अन्तर्गतको एपीवान टेलिभिजनले सञ्चालन गरेको नेपाल आइडलको सिजन थ्रीको पोखरा अडिसनको तयारी पूरा भएको छ । भदौ ३१ गते मंगलबार पोखरा सिमलचौरको जनप्रिय माविमा अडिसन हुनेछ ।

एपीवान टेलिभिजनका तथा नेपाल आइडलका प्रोजेक्ट हेड तथा निदेशक सुरेश पौडेलले अडिसन बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुने जानकारी दिए । पोखरा अडिसन लागि आवश्यक सबै तयारी पुरा भएको एपिवान गण्डकी प्रदेश ब्युरोका प्रमुख सागर राज तिमिल्सिनाले जानकारी दिए । पोखरापछि असोज ३ गते बुटवल, असोज ६ गते नेपालगन्ज, असोज १० गते वीरगन्ज र असोज १४ गते बिर्तामोडमा अडिसन हुनेछ ।

प्रतियोगितामा भाग लिन चाहनेले फर्म भरेर ल्याउनुपर्ने छ वा त्यही पाइने फर्म भरेर बुझाउनु पर्नेछ । फर्म र प्रतियोगितमा भाग लिन कुनै शुल्क लाग्ने छैन । पोखरामा हुने अडिसनमा तनहुँ, स्याङ्जा, लमजुङ, गोरखा बागलुङ, म्याग्दी र पर्वतका विभिन्न ठाउँबाट समेत अडिसनमा भाग लिन आउने निर्देशक पौडेलले बताए ।

उनले अघिल्लो नेपाल आइडलमा भएका कमी कमजोरीलाई हटाएर अझ उत्कृष्ट कार्यक्रम बनाएको उल्लखे गरे । प्रतियोगिताको निर्णायकमा संगीतकार न्ह्यू बज्राचार्य, संगीतकार तथा गायक कालिप्रसाद बास्कोटा र गायिका इन्दिरा जोशी छन् । अमेरिकन आइडलको फ्रेन्चाइज लिएर एपीवान टिभीले ३ वर्षदेखि नेपाल आइडल गायन प्रतियोगिता सुरु गरेको हो ।

नेपाली नागरिकता भएका १६ देखि ३० वर्षभित्रका नेपालीले प्रतियोगितामा भाग लिन पाउनेछन् । सांगीतिक एल्बमका लागि गीत रेकर्ड गरिसकेका व्यावसायिक गायक र गायिकाले समेत यसमा भाग लिन सक्छन् । पहिलो नेपाल आइडलका विजेता पोखराका बुद्ध लामा, दोस्रो नेपाल आइडल रवि ओड भएका थिए ।

Post Comment