बस दुर्घटनामा ३९ घाइते, ६ जनाको अवस्था गम्भीर

समाचार

नेपालगन्ज २७ भदौ । नेपालगन्जबाट सुर्खेत जाँदै गरेको यात्रुवहाक बस देउराली डाँडामा दुर्घटना हुँदा ३९ जना यात्रु घाइते भएका छन् । ना ३ ख ४७३५ नम्वरको मध्यपश्चिम यातायातको यात्रुबहाक बस रत्न राजमार्ग अन्तर्गत बाँके र बर्दियाको सीमा नजिक देउराली डाँडाको पहिलो घुम्तीमा दुर्घटना भएको घाइते यात्रुले बताएका छन्।

दुर्घटना लगत्तै घाइतेहरुलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर ल्याइएको छ । बसमा सवार ३९ जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

घाइते मध्ये ६ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । दुर्घटनाका घाइतेहरुका अनुसार बस देउरालीको पहिलो घुम्तीमा मोडिनुपर्नेमा अनियन्त्रित भई मोडभन्दा ३० मिटर तल खसेको थियो ।

घाइतेहरुलाई शिक्षण अस्पताल कोहलपुरको इमरजेन्सी कक्षमा बेड अभाव भएपछि भुइँमा राखेर समेत उपचार गरिएको छ। यात्रुको परिचय खुल्न नसकेको इलाका प्रहरी कार्यालय कोहलपुरका हवल्दार प्रेम हमालले जानकारी दिए ।

‘धेरैजसो यात्रु बोल्न नसक्ने अवस्थामा रहेकोले नाम र ठेगाना खुल्न सकेको छैन,’ साँझ करिब ८ बजे भएको कुराकानीमा हवल्दार हमालले भने, ‘अहिलेसम्म धेरैको नाम र ठेगाना खुल्न सकेको छैन । बस भिरको रुखमा अड्किएकोले उद्धारमा समेत समस्या छ।’