काठमाण्डौ – नेपाली कांग्रेसले केही सञ्चार माध्यमले ‘जुवा खालबाट पक्राउ’ सम्बन्धी समाचारमा बिनाआधार पूर्व गृह राज्यमन्त्री एवम् पार्टीका नेता इन्द्रबहादुर बानियाँको नाम उल्लेख गरेको भन्दै आपत्ति जनाएको छ ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी सत्यतथ्य नबुझी कुनै पनि व्यक्तिको इज्जत प्रतिष्ठामा आँच आउने गरी समाचारमा नाम उल्लेख गर्नु दुःखद् भएको बताउनुभयोे ।
साथै उहाँले तथ्यमा आधारित भएर समाचार प्रकाशन गर्न आग्रह गर्नुभयो । प्रवक्ता शर्माले यस्ता घटनाको कानुनी उपचारमा नजाने भए पनि सम्बन्धित व्यक्ति कानुनी उपचारमा जाने विषयलाई भने पार्टीले सकारात्मक रुपमा लिने बताउनुभयो ।
पत्रकार सम्मेलनमा प्रदेश नम्बर ३ को प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहनु भएका बानियाँले सत्यतथ्य नबुझी समाचारमा नाम उल्लेख गर्दा आफ्नो चरित्रहत्या गर्ने काम भएको बताउनुभयो ।
त्यस समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै उहाँले कुनै सञ्चारमाध्यमको गल्ती र कमजोरीका कारण सम्पूर्ण सञ्चारजगतले नै विश्वास गुमाउने अवस्था सिर्जना हुने बताउनुभयो ।
नेता बानियाँले त्यस सञ्चारमाध्यमलाई त्यो गल्ती सच्याउन आग्रह गर्दै अन्य सञ्चारमाध्यमले समेत सत्यतथ्य नबुझी त्यस समाचार नक्कल गरेकामा दुःख व्यक्त गर्नुभयो ।