सरकार निष्प्रभावी हुँदा मन्त्री परिवर्तन भए : नेता महत

सरकार निष्प्रभावी हुँदा मन्त्री परिवर्तन भए : नेता महत
राजनीति समाचार

पोखरा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले सरकार प्रभावकारीरुपमा चल्न नसक्दा मन्त्री परिवर्तन गर्नुपर्ने अवस्था आएको आरोप लगाएका छन् । मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ (क) मा हुने प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि आज भक्तपुर नगरपालिका–१० कमलविनायकमा आयोजना गरिएको घरदैलो कार्यक्रममा उनले सरकार निष्प्रभावी हुँदा मन्त्री परिवर्तन गर्दै जानुपर्ने अवस्था आएको उल्लेख गरे ।

“काँग्रेसले उपनिर्वाचनलाई प्रतिपक्षलाई बलियो बनाउन तथा सत्ताप्रतिको जनताको असन्तुष्टिलाई मापन गर्ने पारोका रुपमा लिएको छ”, नेता महतले भने । काँग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले महङ्गी, कर, बलात्कार, भ्रष्टाचारलगायत नियन्त्रण हुन नसकेकाले सरकारलाई सतर्क र सजग गराउन समेत काँग्रेसको जित आवश्यक रहेको बताए ।

घरदैलो कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, पूर्वसांसद कञ्चनचन्द्र वादे, केन्द्रीय सदस्य रमा पौडेल, भक्तपुर जिल्ला सभापति दुर्लभ थापालगायत सहभागी रहेको उपनिर्वाचन परिचालन समितिका संयोजक उद्धव खड्काले जानकारी दिए । उपनिर्वाचनमा काँग्रेसबाट कृष्णलाल भँडेल उम्मेदवार रहेका छन् ।

Post Comment