प्रधानमन्त्री ओलीलाई मृगौला प्रत्यारोपणका लागि विदेश लैजान छलफल

प्रधानमन्त्री ओलीलाई मृगौला प्रत्यारोपणका लागि विदेश लैजान छलफल
समाचार स्वास्थ्य

काठमाडौं, १७ मङ्सिर । प्रधानमन्त्री केपी ओलीलाई थप उपचारका लागि विदेश लैजाने तयारी भएको खबर आजको अन्नपुर्ण पोष्ट दैनिकमा छापिएको छ । एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आइरहेको छ । अस्पतालबाट डिस्चार्ज गरेपछि मिर्गौला प्रत्यारोपणका लागि अमेरिका लैजान चिकित्सक र नेकपा शीर्ष नेताबीच छुट्टाछुट्टै छलफल भएको छ ।

‘मिर्गौलाको कार्यक्षमतामा पूर्ण ह्रास नआउँदै एकपटक विदेश लैजाने तयारी छ’, उपचारमा संलग्न एक चिकित्सकले भने । प्रधानमन्त्री ओलीको एक सातामै दुईपटक डायलासिस गरिसकिएको छ । नेकपाका एक सचिवालय सदस्यले प्रधानमन्त्री ओलीलाई उपचारका लागि विदेश लैजान आन्तरिक छलफल भइरहेको बताए । ‘अमेरिका नै लैजाने कि अमेरिकी चिकित्सकलाई नेपालमै झिकाएर उपचार गराउने भन्नेमा छलफल भइरहेको छ, अमेरिका लैजाने सम्भावना बलियो छ ।’ प्रधानमन्त्री ओलीलाई मिर्गौला दिन तयार पारिएका नातेदार पनि हाल अमेरिकामै रहेको बताइएको छ ।

केही साताअघि प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्यासिंह शाह अमेरिकाबाट फर्केकी थिइन् । वरिष्ठ मिर्गौला रोग विशेषज्ञसमेत शाहले निजी कार्यक्रमका लागि अमेरिका गएको बताए पनि उनले त्यहाँ प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे विज्ञ चिकित्सकसँग छलफल गरेको बताइएको छ ।

Post Comment