काठमाडौँ, २२ मङ्सिर । नेपाल प्रज्ञा –प्रतिष्ठानले आयोजना गरेको पुस्तक प्रदर्शनीमा पाठकको भीड बढ्न थालेको छ । सहुलियत रुपमा पुस्तक उपलब्ध गराई पठन संस्कृतिको विकास गर्ने उद्देश्यले प्रतिष्ठानले यही मङ्सिर १ गतेदेखि एकमहिने पुस्तक प्रदर्शनी शुरु गरेको थियो । प्रदर्शनीमा दैनिक सयौँ पाठक अध्ययन एवं पुस्तक खरीदका लागि आउन थालेको कार्यक्रम संयोजक सुधीर ढुङ्गेलले राससलाई जानकारी दिनुभयो ।
प्रतिष्ठानको वार्षिक कार्यक्रमअन्तर्गत प्रदर्शनी शुरु गरिएको हो । मङ्सिर २० गतेसम्म रु छ लाखभन्दा बढीको पुस्तक बिक्री भइसकेको छ । प्रतिष्ठानमा पुस्तक प्रदर्शनी भइरहेको समाचार सुनेर हेर्न आउँदा केही खरीद गरेको ललितपुर महालक्ष्मी नगरपालिकाबाट आउनुभएका श्यामकृष्ण महर्जनले बताउनुभयो । प्रतिष्ठानबाहेकका प्रकाशनका साहित्यिक पुस्तक पनि समेटिएको भए राम्रो हुने उहाँको सुझाव छ ।
प्रदर्शनीमा रु दुईदेखि रु एक हजार ४०० सम्मका पुस्तक राखिएको छ । प्रतिष्ठानले प्रकाशन गरेका ५०० प्रकारका पुस्तक र १०० प्रकारका पत्रिका सहुलियत मूल्यमा खरीद गर्न सकिने ढुङ्गेलले सुनाउनुभयो । प्रदर्शनीमा रु दुईको ‘काव्य अर्चना’ रु एक हजार ४०० को ‘प्रज्ञा–नेपाली–अङ्ग्रेजी शब्दकोश’ छन् । यसैगरी पछिल्लो समय बजारमा आएका डा बद्री पोखरेलको ‘अर्थशास्त्रका शब्दावली’, गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ को ‘कर्मदर्शन’, जगत्प्रसाद उपाध्याय र विष्णुप्रभातले सम्पादन गरेको ‘दर्शनावली–६’, हेमनाथ पौडेल, सुरेन उप्रेती, शशी लुमुम्बुलगायतले सम्पादन गरेको ‘अन्तरदेशीय नेपाली कथाहरु’ पनि प्रदर्शनीमा छन् ।
प्रदर्शनीमा १५ देखि ६० प्रतिशतसम्मको सहुलियत दिएर पुस्तक बिक्री भइरहेको छ । मङ्सिर मसान्तसम्म आयोजित प्रदर्शनीप्रति पाठकको रुचि बढेमा पृथ्वीजयन्ती अर्थात् पुस २७ गतेसम्म विस्तार गर्न सकिने संयोजक ढुङ्गेलले बताउनुभयो ।
प्रदर्शनीमा प्रकाशन मितिदेखि विसं २०५५ सम्मका प्रतिष्ठानले प्रकाशन गरेका ‘समकालीन साहित्य’, ‘प्रज्ञा’, ‘सयपत्री’, ‘कविता’लगायत पत्रिका रु पाँचमै उपलब्ध गराइने जनाइएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिकाबाट पुस्तक लिन नै आउनुभएकी रमा खड्का देशभरबाट प्रकाशन हुने साहित्यिक पत्रिका प्रतिष्ठानमा खरीद गर्न पाउने व्यवस्था भए पाठकलाई सहज हुने बताउनुहुन्छ ।
मोफसलबाट समेत उत्कृष्ट साहित्यिक पत्रिका प्रकाशन भइरहेकामा राजधानीका पाठकले सहज रुपमा पाउने व्यवस्था गर्न प्रतिष्ठान साझा प्रकाशन जस्ता संस्थाले सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।