एक्ली आमाले हुर्काएकी सन्ना मारिन बनिन् विश्वकै कान्छी प्रधानमन्त्री

एक्ली आमाले हुर्काएकी सन्ना मारिन बनिन् विश्वकै कान्छी प्रधानमन्त्री
अन्तर्राष्ट्रिय समाचार समाचार

एजेन्सी, २४ मङ्सिर । फिनल्याण्डको सोसल डेमोक्र्याटिक पार्टीकी नेतृ सन्ना मरिन विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री बन्नुहुने भएको छ । प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएका अन्ति रिन्नेको पार्टीले मन्त्री समेत रहेकी मरिनलाई प्रधानमन्त्री बनाउने निर्णय गरेपछि उहाँ प्रधानमन्त्री बन्ने निश्चित भएको हो । यो संगै उनि विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री बनेकी छन् ।

उहाँ आफ्नो पार्टीकी उपाध्यक्ष पनि हुनुहुन्छ । उहाँले आफ्नो पार्टी अध्यक्षले विरामी विदा लिँदा गत बर्ष पार्टी चलाउनुभएको थियो । गठबन्धन सरकारका रहेका पाँच पार्टीमध्ये फिनल्याण्ड सोसियल डेमोक्र्याटिक पार्टी (एसडीपी)ले प्रधानमन्त्री रिन्नेले पदबाट राजीनामा दिएपछि ३४ बर्षीया मरिनलाई सरकारको नेतृत्व गर्न पठाउनेगरी चयन गरेको हो ।

कान्छा प्रधानमन्त्रीमध्ये युक्रेनका प्रधानमन्त्री ओलेक्सी होन्चरुक ३५ वर्षका हुनुहुन्छ भने न्यूजील्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नको ३९ वर्षको हुनुहन्छ ।

सोसल डेमोक्र्याटिक संसदीय समूहमा उहाँले ३७ बर्षीय अन्ति लिन्डमानलाई तीन मतले पराजित गर्दै प्रधानमन्त्री बन्ने बाटो सुनिश्चित गर्नुभएको हो । लिन्डमानले २९ मत ल्याउँदा मरिनले ३२ मत ल्याउनुभएको छ ।

पार्टीभित्रको निर्वाचन आइतबार भएको थियो भने नतिजा राष्ट्रिय टेलिभिजनबाट प्रसारण गरिएको थियो ।हुलाक सेवामा भएको हडतालको विषयले नराम्रो रुप लिँदै गएपछि निवर्तमान प्रधानमन्त्री रिन्नेले भने विश्वासको मत गुमाएर राजिनामा दिनुभएको हो । उहाँलाई गठबन्धनमा रहेकै दलका सांसदहरूले असहयोग गरेका थिए ।

निवर्तमान प्रधानमन्त्रीलाई असहयोग गरेका दलका सांसदहरू पनि नयाँ गठबन्धनसमेतमा सँगै रहेका छन् । उनीहरूले नयाँ सरकार बनाउने बारेमा पनि छलफल गरिरहेका छन् । मारिनको नेतृत्वमा बन्न लागेको गठबन्धन सरकारमा सबै दलको नेतृत्व महिलाहरूले गर्ने पनि निर्णय भएको छ ।

गठबन्धनमा सोसल डेमोक्र्याट्स, सेन्टर, ग्रिन्स, लेफ्ट एलाईन्स र स्वेडिस पिपल्स पार्टी रहेका छन् । उनीहरूमध्ये सेन्टरले निवर्तमान प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको हो ।

गत अप्रिलमा गरिएको निर्वाचनमा सोसल डेमोक्र्याटिक पार्टी ठूलो दल बनेकोले त्यही दलबाट प्रधानमन्त्री नियुक्त हुने व्यवस्था अनुसार मारिन प्रधानमन्त्री बन्न लाग्नु भएको हो । प्रधानमन्त्रीका लागि निर्वाचित भएसँगै उहाँले छोटो वक्तव्य दिँदै सवै पार्टीहरुलाई एकजुट हुन आह्वान गर्नुभएको छ ।

फिनल्याण्डका राष्ट्रपति सौली निनिस्तोले मरिनलाई प्रधानमन्त्रीका रूपमा मङ्गलबार नियुक्त गर्ने स्थानीय सञ्चार माध्यमहरूले सोमबार समाचार सम्प्रेषण गरेका छन् । आमाले एक्लै हुर्काएकी मारिनले प्रशासनशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ भने विश्वविद्यालयमा पढ्न जानेमा उहाँ आफ्नो परिवारको पहिलो व्यक्ति पनि हुनुभएको थियो ।

Post Comment