काठमाडौं, २७ मङ्सिर । राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान अनिल गुरुङले यस सिजनको सहिद स्मारक ए डिभिजन लिग ब्रिगेड ब्वाइज क्लबबाट खेल्ने निश्चित भएको छ । क्लब र गुरुङबीच आज शुक्रबार सम्झौता भएको हो ।
अनिलले गत सिजनको लिग थ्रीस्टारबाट खेलेका थिए । त्यसअघि उनले लामो समय मनाङ मर्स्याङ्दीबाट फुटबल खेलेका थिए ।
राष्ट्रिय फुटबल टिमबाट यसअघि नै संन्यासको घोषणा गरिसकेका अनिलले फेरि ब्रिगेडमा फर्कदा खुसी लागेको बताएका छन् । सन् २००४ मा अनिलले ब्रिगेडबाट ए डिभिजन लिगमा डेब्यू गरेका थिए ।
क्लबले अनिलसँंगै उत्तम गुरुङ र विजय गुरुङलाई पनि टिममा आबद्ध गरेको जनाएको छ । सिजनको लिग शनिबारबाट सुरु हुँदैछ । पहिलो खेलमा ब्रिगेड र मच्छिन्द्र क्लबबीच खेल हुँदैछ ।