काठमान्डौ असोज २ । आज देखि पर्सी मङगलबार सम्म सरकारले विभिन्न कार्यक्रम गरीे पहिलो संविधान दिवस मनाउदै छ । गत वर्ष असोज ३ गतेका दिन संविधानसभाबाट संविधान घोषणा भएको सम्झनामा संविधान दिवस मनाउन लागिएको हो ।
व्यवस्थापिका संसदले आज विशेष समारोह आयोजना गरेको छ । दिउँसो हुने समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधान्यायाधीश, संवैधानिक निकायका प्रमुख, कुटनीतिक नियोगका प्रमुख, विशिष्ट कर्मचारी, सांसद लगायतको उपस्थिति हुने संसद सचिवालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने भोली हुने मूल समारोहमा सहभागी भएर अमेरिका जाने कार्यक्रम रहेको छ । सरकारले भोली बिहान सैनिक मञ्चमा संविधान दिवसको विशेष कार्यक्रमको आयोजना गरेको छ ।
सरकारद्वारा गठन गरिएको संविधान दिवस मूल समारोह समितिले तीन दिन प्रचारप्रसार, राष्ट्रिय गीत, दीपावली, सेनाद्वारा तोप र बन्दुकको बढाई सहित विभिन्न कार्यक्रम गरी राष्ट्रिय दिवसको रूपमा मनाउने तयारी गरेको हो । यसैबिच नेकपा एमालेले भोली छुट्टै कार्यक्रम गरेर संविधान दिवस मनाउने जनाएको छ । सरकारले संविधान विरोधी मोर्चासँग सहकार्य गर्दै संविधान कार्यान्वयन रोक्ने योजनाका साथ अघि बढ्न थालेको भन्दै एमालेले छुट्टै तवरले संविधान दिवस मनाउन लागेको हो ।
यस्तै संविधानमा आफ्ना मुद्दा नसमेटिएको भन्दै पहिलो संविधान दिवसकै दिन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित संघीय गठबन्धनले कालो दिवसको रुपमा मनाउने भएको छ । संविधानप्रति असन्तुष्ट मधेसवादी दलले संविधान दिवसकै दिन कालो दिवस मनाउने र कालोझन्डा प्रदर्शन गर्ने कार्यक्रम राखेकोमा एमालेले भने असन्तुष्टि जनाएको छ ।