१७ वर्षपछि गोलरहित बराबरीमा सकियो एल क्लासिको, गोलको आधारमा बार्सिलोना शिर्ष स्थानमा

१७ वर्षपछि गोलरहित बराबरीमा सकियो एल क्लासिको, गोलको आधारमा बार्सिलोना शिर्ष स्थानमा
खेल समाचार

एजेन्सी, २ पुस । स्पानिस ला लिगाअन्तर्गत गएराती बार्सिलोना र रियल मड्रिडबीच भएको सिजनको पहिलो एल क्लासिको गोलरहित बराबरीमा सकिएको छ । यी दुईलाई उपाधि होडमा निर्णायक मानिएको छ ।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा दुवै टोलीले गोलका केही अवसर पाए पनि सदुपयोग गर्न नसक्दा अंक बाँड्न बाध्य भएका हुन् । ७१ औं मिनेटमा रियलका गारेथ बेलले गोल गरे पनि अफसाइड घोषित भएको थियो ।

सन् २००२ यता एल क्लासिकोमा गोल हुन नसकेको यो पहिलो खेल हो । साथै ला लिगामा एल क्लासिको खेल बराबरीमा सकिएको यो ३५ औं पटक हो ।

ला लिगामा कूल १७९ एल क्लासिको खेल हुँदा दुवै क्लबले समान ७२ जित हात पारेका छन् । बराबरीपछि अंक तालिकामा बार्सिलोना र रियलले समान एक-एक अंक थपेका छन् । १७ खेलबाट दुवै टोलीको समान ३६ अंक छ । तर गोल अन्तरमा अगाडि रहँदै बार्सिलोना अंक तालिकामा शीर्ष स्थानमा छ ।

Post Comment