अमेरिका, ५ पुस । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले स्पेस फोर्स अर्थात् अन्तरिक्ष फौज गठन गरिएको औपचारिक घोषणा गरेका छन् । यो फोर्सले अन्तरिक्षमासमेत युद्ध गर्न सक्षम हुनेछ । सत्तरी वर्षभन्दा बढी समयपछि अमेरिकी सेनाको नयाँ फौजको रूपमा सार्वजनिक गरिएको अन्तरिक्ष फौजले अमेरिकी वायुसेनाअन्तर्गत रहेर काम गर्नेछ ।
बीबीसीका अनुसार वाशिङ्टनस्थित एक सैन्य अखडामा नयाँ फौजको घोषणा गर्दै ट्रम्पले “अन्तरिक्ष विश्वको नवीनतम युद्धस्थल” भएको बताएको छ । “हाम्रो राष्ट्रिय सुरक्षाले ग म्भीर खतराहरूको सामना गरिरहेको बेला अन्तरिक्षमा अमेरिकी सर्वोच्चता कायम रहनु आवश्यक छ,” उनले भने ।
“हामी त्यस दिशामा अगाडि नै छौँ । तर हामीले पर्याप्त नेतृत्व लिन सकेका छैनौँ, छिट्टै हामी अझै अगाडि रहनेछौँ ।” गत साता कङ्ग्रेसका दुवै सदनबाट अमेरिकी सेनाका लागि ७३८ अर्ब अमेरिकी डलरको प्रतिरक्षा विधेयक पारित भएपछि नयाँ फौज गठन सम्भव भएको हो ।