काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचारमा एकरुपता भए मात्रै एकीकृत पार्टीले लिएको उद्देश्य प्राप्त हुने भएकाले एकीकृत भएर अगाडि बढ्न प्रेस सङ्गठन नेपाललाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित प्रेस सङ्गठन नेपालको राष्ट्रिय भेला तथा शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले भने, “इतिहास र वर्तमानमा क्रान्तिका लागि जनमत निर्माण गर्ने काम सचेत व्यक्तिबाट नै भएको छ । नेतृत्वले सही समयमा सही निर्णय गर्दा ठूलाठूला परिवर्तन भएका छन् ।”
परिवर्तनलाई उल्ट्याउन प्रयास भइरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले त्यो कुनै हालतमा सफल हुन नसक्ने बताए ।
“अहिलेको अन्तरराष्ट्रिय र राष्ट्रिय परिवेशमा जनमत निर्माण मुख्य विषय भएको छ । त्यसमा पनि इन्टरनेट र डिजिटलाइजेशन मुख्यरूपमा काम गरेको छ । त्यसका लागि जनताका पक्षधर सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छ”, उनले भने ।
उनले मिडिया बुर्जुवाको हातमा रहेको भन्दै यसप्रति सजग हुनुपर्नेमा जोड दिए । अध्यक्ष दाहालले राष्ट्रिय एकता र समृद्धिका लागि जनमत तयार गर्ने काम गर्न पनि सञ्चारकर्मीलाई आग्रह पनि गरे ।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका क्रममा गरिएको प्रतिबद्धताअनुसार नै नेकपा र सरकारले काम गरिरहेको अध्यक्षको भनाइ थियो ।
“पार्टी एकता लागि हामीले जे भनेका थियौँ, त्यही गरेका छौँ । पाँच वर्षका लागि सरकार दिन्छौँ भनेका थियौँ, त्यो हामीले दिएका छौँ । पाँच वर्षका लागि बनेको सरकारले इमान्दारीका साथ काम गरिरहेको छ ।”
उनले सरकारले इमान्दारीका साथ काम गरिरहेकाले विरोधीले गरेको जस्तो प्रचारले कुनै अर्थ नराख्ने भन्दै त्यस्ता प्रचारको खण्डन गर्नसमेत आग्रह गरे ।
पाँच वर्षका लागि सरकार दिन्छौँ भनेका थियौँ त्यो हामीले दिएका छौँ” पूर्ण अवधिका लागि बनेको सरकारले इमान्दारीका साथ काम गरिरहेको छ, कुनै आशङ्का नपालौँ, नराखौँ”, उनले भने ।
पार्टीका विचार, राजनीतिक दृष्टि र पार्टीका कार्यक्रमलाई जनतामा लग्नुपर्ने बताउँदै उनले राष्ट्रको स्वतन्त्र जनतामा राष्ट्रको स्वन्त्रतता र भौगोलिक अखण्डतालाई संरक्षण गर्ने काममा कम्युनिष्ट पार्टीले नै राष्ट्रको एकतालाई सुदृढगरी अग्रणी र नेतृत्वदायी भूमिका खेलेको स्मरण गरे ।
सामाजिक न्याय र समृद्धिको लडाइँमा कम्युनिष्टले सबैभन्दा अगाडि रहेर बलिदान दिएको तथ्य पेश गर्दै अध्यक्ष दाहालले राष्ट्रको एकता र समृद्धिका लागि समेत सरकार र पार्टी प्रतिबद्ध रहेको स्पष्ट पारे ।
केही प्रतिक्रान्तिकारी शक्तिले अझै पनि परिवर्तनलाई उल्ट्याउने प्रयास गरिरहेको बताउँदै उहाँले त्यो कुनै हालतमा सफल हुन नसक्ने स्पष्ट गरे ।
हालै सम्पन्न स्थायी कमिटी बैठकले पनि विचारमा एकरुपता हुुनु नै पार्टी एकताको मुख्य आधार हो भनेर जोड दिएको छ भन्दै उनले विचारमा एकरुप आधार बन्दैनथ्यो भने केही समूह र नेतृत्वले चाहँदैमा पार्टी एकतासमेत हुन नसक्ने बताए ।
उनले भने, “हाम्रो विचारमा माक्र्सवाद, लेनिनवाद, द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादलाई दृष्टिकोण मान्ने, माक्र्सवाद लेनिनवादको आधारभूत सिद्धान्तलाई निर्देशनात्मक सिद्धान्तका रुपमा आत्मसात् गर्ने र शान्तिपूर्णरुपले प्रतिस्पर्धा गर्दै समाजवादको बाटोतिर अघि बढ्ने भन्ने कुरामा समानता नभएको भए कसैले चाहँदैमा यो एकता सम्भव थिएन ।”
अध्यक्ष दाहालले संविधान गतिशील दस्तावेज भएकाले जनता र राष्ट्रको आवश्यकताअनुसार परिमार्जन गर्दै लैजाने स्पष्ट पारे ।
देशको राष्ट्रियता, स्वाधीनता, सार्वभौमसत्ता, भौगोलिक अखण्डताबाहेकका राजनीतिक विषय परिवर्तनशील रहेको संविधानले नै स्पष्ट पारेकाले समय क्रममा संशोधन गरिने उनले बताए ।