पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा नुवाकोटको विदुर नगरपालिकाले सार्वजनिक बिदा दिएपछि विभिन्न राजनीतिक दल, सरोकारवाला समिति तथा अन्य सङ्घसंस्थाले राष्ट्रिय एकता दिवसका रुपमा यस दिनलाई भव्यताका साथ मनाउँदै छन् । शाहको देहत्याग भएको स्थान देवीघाटमा पृथ्वी स्मारक संरक्षण समिति र नुवाकोट साततले दरबारमा पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मूल समारोह समितिले शाहको सम्झना गर्दै विशेष कार्यक्रम गर्ने आयोजना गरेका छन् ।
पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मूल समारोह समितिका अध्यक्ष कुशबहादुर डङ्गोल भन्नुहुन्छ, “विसं १७७९ मा पुस २७ का दिन पिता राजा नरभुपाल शाह र माता कौशल्यावतीका प्रथम पुत्र पृथ्वीनारायण शाहले नै आधुनिक नेपालको खाका कोर्नुभएको हो”, उहाँले भन्नुभयो, “नेपाल एकीकरणको मुहान मानिएको नुवाकोटका नागरिकले आधुनिक नेपालको जन्मदाता एवं राष्ट्रिय एकताका प्रतिकका रुपमा खासगरी पृथ्वीनारायण शाहलाई सधैँ श्रद्धा, सद्भाव र सम्मान दिने गर्दछन् । एकीकरण अभियान थालनी भएको नुवाकोट ऐतिहासिक दृष्टिले नेपालको दोस्रो राजधानी, पृथ्वीनारायण शाहद्वारा दिव्योपदेश जारी भएको थलो र उनले देहत्याग गरेको भूमि भएका कारण पनि उहाँको मूल्याङ्कन अन्यत्रभन्दा नुवाकोटमा बढी हुने गरेको छ ।”
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी ९सयुंक्त० केन्द्रीय उच्चस्तरीय कार्य समितिका सदस्य झनक प्याकुरेल भन्नुहुन्छ, “नेपाल एकीकरणसँगै यहाँ भित्रिएको मुस्लिमसहितका हिन्दू धर्मावलम्बीको बसोबास, ठकुरी, मगर, नेवार, कुमाल, दलित तथा बाह्मण समुदायको जातीय विविधताको उदाहरणका रुपमा रहेको नुवाकोटले पृथ्वीनारायण शाहकै कारण फैलिएको नेपाल चार जात छत्तिस वर्णको सुन्दर फूलबारी हो भन्ने चित्र पस्किएको छ ।”
नेकपा माले नुवाकोट प्रमुख कृष्णहरि गजुरेल भन्नुहुन्छ, “नेपाल एकीकरण गरेका राजा पृथ्वीनारायणको स्मरणमा २००७ सालपछि एकता दिवस मनाउन थालिएको थियो, तर ६२ र ६३ को आन्दोलनपछि राष्ट्रिय एकता दिवस खारेज गरिएको छ । केही समयदेखि एकता दिवस मनाउन माग उठे पनि सरकारले कुनै निर्णय गर्न सकेको छैन ।”
उहाँ भन्नुहुन्छ, “लामो समयदेखि राष्ट्रियस्तरबाट र केही वर्षदेखि जनस्तरबाट मात्र पुस २७ गते मनाइँदै आएको ‘राष्ट्रिय एकता दिवस’का बारेमा नेपालीले विभिन्न तर्कवितर्क गर्दै आइरहेका छन् । तर यसको सुनुवाइ भने सरकारबाट हुनसकेको छैन यो कति अपमानजनक रहेको छ ।”
विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित भन्नुहुन्छ, “पृथ्वीनारायण शाहले बाइसे र चौबिसे राज्यलाई एकीकरण गरेर बृहत् नेपाल बनाउनुभएको थियो । उहाँको यो योगदानलाई भुल्न नहुने भनेर नै हामीले पृथ्वीजयन्तीका दिन विदुर नगरपालिकाभरि सावर्जनिक बिदा दिएका हौँ ।” तत्कालीन समयमा पृथ्वीनारायण शाहले दिनुभएको उपदेश अहिलेको अवस्थामा पनि उत्तिकै सान्दर्भिक रहेकाले उहाँको दूरदर्शिताको कदरका लागि भए पनि दिवस मनाउनुपर्छ भन्ने आभास सम्पूर्ण नेपालीमा हुनुपर्ने उहाँले बताउनुभयो ।
त्यस्तै नुवाकोट साहित्य प्रतिष्ठानका सल्हाकार श्रीराम श्रेष्ठ भन्नुहुन्छ, “पृथ्वीनारायण शाहको बाटो बिराएकै कारण पूर्वमा टिष्टा, पश्चिमकिल्ला काँगडा, दक्षिणमा गङ्गा नदीसम्म फैलिएको नेपाल ब्रिटिस–इण्डियासँग भएको सुगौली सन्धिपश्चात् निकै खुम्चिएको छ ।”
उहाँ फेरि भन्नुहुन्छ, “खुला सिमाना रहेको भारतले नेपालको सीमा अतिक्रमण र नेपालमा भारतीयकरणको अभियान जारी रहेको छ । जुन कुरा राष्ट्र निर्माता पृथ्वीनारायण शाहले सोच्नुभएको र चाहनुभएको थिएन । पृथ्वीनारायण शाहको दिव्योपदेशमा जेजे कुरा नगर्नु भनिएको थियो त्यो त्यो कुरा अहिले राजनीति र कूटनीतिका नाममा गरिरहेका छन् । यो नै राष्ट्रिय दुर्भाग्य हो ।” राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई अपमान गर्नु, भुल्नु एउटा गम्भीर ऐतिहासिक भूल भएको उहाँको ठहर छ ।
नुवाकोटमा गोर्खालीको कब्जा भएकाले नुवाकोटका सिपाही भागी बेलकोटमा अड्डा जमाइ बसेकाले कालु पाँडेको तत्काल हमला नगर्ने सल्लाहलाई उपेक्षा गरी शाहले बेलकोटमा हमला गर्नुभयो र जयन्त राना यहाँ पक्राउ परेको बेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले जानकारी दिनुभयो ।
त्यस्तै विदुर–५ पिपल्टारका समाजसेवी उद्धव पनेरु भन्नुहुन्छ, “पृथ्वीनारायण शाहले नेपाल एकीकरणको महायात्रा शुरू गरी र कैयौँ स्थानलाई नेपाल राष्ट्रमा गाभेर चार वर्ण र ३६ जातको फूलबारीको सृष्टि गर्नुभयो । नुवाकोट र बेलकोटको विजयपछि गोरखालीले अन्य अरु ठाउँमा विजय प्राप्त गरेको इतिहास पढ्न पाइन्छ । यस्ता राष्ट्रका अभिभावक पृथ्वीनारायण शाहलाई हामी युवाले भावी सन्ततिलाई उहाँको ऐतिहासिक धरोहरलाई सम्झाउनुपर्छ भुल्न दिनुहँुदैन”, उहाँले भन्नुभयो, “राजा शाहले एकीकरणकालदेखि शुरु नुवाकोटको सांस्कृतिक पर्व, मेला र जात्रासँगै रहनसहन, ऐतिहासिक धरोहरलाई चिनाउने धार्मिक मठमन्दिर, देवीघाटको जाल्पा माई, वन्देवी, नुवाकोट भैरवी, दुप्चेश्वर महादेव, बेत्रावती धामलगायत गुम्बा, नुवाकोटका नौ वटा ऐतिहासिक कोट र नुवाकोटको साततले दरबार लगायतका अनेकौँ साक्षी प्रमाणले शाहको पौरख र अस्तित्वलाई हामी सबै नुवाकोट र देशैभरिका जनताले सम्झिने गर्दछन् ।”