३६ विदेशीलाई त्रिभुवन विमानस्थलबाटै फिर्ता पठाइयो, कोरोना भाइरस रोक्न सरकार तातियो

३६ विदेशीलाई त्रिभुवन विमानस्थलबाटै फिर्ता पठाइयो, कोरोना भाइरस रोक्न सरकार तातियो
समाचार समाज

काठमाडौँ, ३ चैत । विश्वभर माहामारीको रुप लिएको कोरोना भाइरस कोभिड-१९ को रोकथामको लागि सरकारले विमानस्थलमा कडा निगरानी थालेको छ । यसै बीच त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले स्वास्थ्य प्रमाणपत्र नल्याएका ३६ विदेशीलाई नेपाल प्रवेशमा रोक लगाएर फिर्ता पठाएको छ ।

उनीहरुलाई कोरोना भाइरस नभएको व्यहोरा लेखिएको स्वास्थ्य प्रमाणपत्र नल्याई नेपाल आएको हुनाले फिर्ता पथाइएको हो । छिमेकी मुलुक चिनबाट संक्रमण सुरु भएको कोभिड – १९ अहिले युरोप लगायत विश्वभर फैलिरहेको छ । त्यसैले नेपाल भ्रमणको लागी आउने विदेशी पर्यटकहरुले अनिवार्य रुपमा स्वास्थ्य प्रमाणपत्र साथमा ल्याउनु पर्ने अन्यथा उनीहरुलाई आफ्नै देश फिर्ता गर्ने नीति बनाएको छ ।

विदशी नागरिकले अनिवार्य कोरोना भाइरसबाट संक्रमित नभएको स्वास्थ्य प्रमाणपत्र (हेल्थ रिपोर्ट) बुझाउनुपर्ने निर्णय कन्सुलर सेवा विभागमार्फत नेपालस्थित विदेशी दूतावास र विदेशस्थित नेपाली दूतावासमार्फत सम्बन्धित मुलुकमा पत्राचार गरिएको थियो ।

०००

यो पनि

आपतकालीन क्वारेन्टाइनको तयारीमा जुट्न आग्रह

भद्रपुर, ३ चैत । झापामा कोभिड–१९ विरुद्ध सचेतना अपनाउँदै आपतकालीन क्वारेन्टाइनको तयारीमा जुट्न जिल्ला प्रशासन कार्यालयले स्थानीय तहहरुलाई आग्रह गरेको छ । आज बसेको कार्यालय प्रमुखहरुको बैठकमा प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले कोभिड–१९ लागेको हो या होइन भनेर थाहा पाउन प्रदेश नं १ मै ल्याब टेस्टको व्यवस्था गर्न माग भइरहेको जानकारी दिँदै सबै स्थानीय तहलाई आपतकालीन क्वारेन्टाइनको तयारी अवस्थामा बस्न निर्देशन दिनुभएको हो ।

“सीमा नाकामा उच्च सतर्कता अपनाएका छौं, आजका मितिसम्म झापामा त्यस्तो सङ्क्रमित कोही छैन”, उहाँले भन्नुभयो, “तर भविष्यमा केही भइहाल्यो भने पूर्व तयारी अवस्थामा रहँदा समस्याको समाधान गर्न सजिलो हुन्छ ।” प्रजिअ रानामगरले सबै स्थानीय तहलाई वडावडासम्म स्वयम्सेवक समिति गठन गरेर सचेतनामूलक कार्यक्रम गर्न, सर्वसाधारणमा भ्रम सिर्जना हुने गतिविधि नगर्न र सबैलाई अनिवार्य रुपमा साबुन पानीले हात धुन सिकाउन आग्रह गर्नुभयो ।

जनस्वास्थ्य कार्यालयका अधिकृत जीवन चौलागाईंले झापाका सीमा नाका काँकडभिट्टा, भद्रपुर, टाघनडुब्बा, गौरीगञ्ज र भद्रपुर विमानस्थलमा ‘कोरोना भाइरस परामर्श तथा प्राथमिक परीक्षण कक्ष’ स्थापना गरेर भारतलगायत तेस्रो मुलुकबाट आउनेको स्वास्थ्यपरीक्षण गर्ने काम भइरहेकोे बताउनुभयो । उहाँले हालसम्ममा २४ हजार बढीको स्वास्थ्य जाँच गरिएको जनाउँदै पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्न लागेका ज्वरो देखिएका १२ भारतीयलाई फिर्ता पठाइएको जानकारी दिनुभयो ।

मेची अञ्चल अस्पतालका मेडिकल सुपरिण्टेन्डेन्ट डा पिताम्बर ठाकुरले अस्पतालमा दुई दिनभित्रमा चार वटा बेड भएको आइसोलेसन कक्ष स्थापना गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीसँग खाली कोठा छैन, इलेक्ट्रोनिक सर्जरी बन्द गरेर त्यही रुमलाई आइसोलेसन कक्ष बनाउँछौं ।” उहाँले सरकारले चाँडै बजेट पठाइदिएमा एक हप्ताभित्रमा पाँच आइसोलेसन कक्ष र दुईवटा भेन्टिलेटरसहितका आइसियू कक्ष बनाउन अस्पताल समिति तयार रहेको बताउनुभयो ।

बैठकमा स्थानीय तहका प्रशासकीय अधिकृतहरुले आ–आफ्ना क्षेत्रमा तयारीका बारेमा छलफल भइरहेको र आफूहरुले गरिरहेको गतिविधिका बारेमा जानकारी दिनुभएको थियो । प्रजिअ अधिकारीले सबै कार्यालयका कर्मचारीलाई कार्यक्षेत्रमा खटिँदा अनिवार्य माक्सको प्रयोग गर्न र सेवाग्राहीका लागि कार्यालयमा साबुन पानीको व्यवस्था गरिदिन कार्यालय प्रमुखहरुलाई अनुरोध गर्नुभएको छ ।

यो पनि

कोभिड–१९ का बारेमा सामाजिक सञ्जालमार्फत भ्रम सिर्जना हुने गरी प्रचारप्रसार नगर्न आग्रह

काठमाडौँ, ३ चैत। विश्वभर फैलिरहेको कोभिड–१९ का बारेमा सामाजिक सञ्जालमार्फत भ्रम सिर्जना हुने गरी प्रचारप्रसार नगर्न आग्रह गरिएको छ । आज यहाँ डिपिनेट नेपाल (विपदपूर्व तयारी सञ्जाल)ले आयोजना गरेको कोभिड–१९ छलफल कार्यक्रममा सहभागीले विभिन्न सामाजिक सञ्जालमार्फत जनमानसमा भ्रम सिर्जना गर्ने गरी प्रचार नर्गन अनुरोध गरिएको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष सूर्यबहादुर थापाले कोभिड–१९ नेपाल भित्रन नदिन समस्या परिहाल्दा यसका बारेमा सरकारले चालेको कदम स्वागतयोग्य रहेको बताउनुभयो । अध्यक्ष थापाले पछिल्लो समय बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरेको भन्दै सरकारले त्यसको नियमित अनुगमन गरी दोषीलाई कडा कारवाही गर्नुपर्नेमा जोड दिनुभयो ।

विभिन्न गैह्रसरकारी संस्थामार्फत नेपाल सरकारको आधिकारिक निकायबाट कोराना भाइरसको रोकथामका लागि भएका प्रयास बारेमा सबैमा जानकारी गराउने बताइएको छ । बजारमा देखिएको कालोबजारी, कृत्रिम अभाव र गुणस्तरहीन तथा फरक मूल्यभन्दा बढीमा सामान बिक्री भएको सूचना पाएमा तत्काल सरकारी निकायमा जानकारी गराउने जस्ता कार्य गर्ने विषयमा निर्णय गरिएको छ ।

Post Comment