कोरोनाको प्रभाव रगत सङ्कलनमा

कोरोनाको प्रभाव रगत सङ्कलनमा
समाचार समाज स्वास्थ्य

कोरोना भाइरसको त्रासले सभा, सम्मेलन हुन छाडेसँगै रक्तदानका कार्यक्रम प्रभावित भएका छन् । यसको प्रत्यक्ष प्रभाव रगत सङ्कलनमा परेको छ । जसका कारण बिरामी उपचारमा समस्या हुन थालेको देखिन्छ । नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार पूर्व निर्धारित १० भन्दा बढी रक्तदानका कार्यक्रम स्थगन भएका छन् ।

दैनिक १५० युनिट हाराहारी रगत यहाँ माग हुने गर्दछ । कार्यक्रमनै नभएपछि बिरामीका आफन्तले रक्तदाता खोजेर ल्याउनुपर्ने परिस्थिति सिर्जना भएको छ ।

पौडेलले भने,“धेरैं कार्यक्रम स्थगित भए, भएका कार्यक्रममा पनि लक्ष्यको आधा मात्र रगत सङ्कलन हुने गरेको छ ।” माग बढ्दै जाने तर रगत सङ्कलन नभएपछि समस्या भएको उनले बताए ।

फागुन ३० गते २१ युनिट रगत सङ्कलन भएकोमा त्यसपछि मङ्गलबार १०२ युनिट रगत सङ्कलन भएको पौडेलले जानकारी दिए ।

जिल्लामा सबैभन्दा बढी रगत बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा खपत हुने गर्दछ । सो अस्पतालमा मात्र केन्द्रबाट ४० प्रतिशत रगत जाने गर्दछ ।

बाँकी ६० प्रतिशत भरतपुर अस्पताल, दुई ठूला मेडिकल कलेज र निजी अस्पतालमा खपत हुने गर्दछ । रगतकै अभावमा ती अस्पतालमा शल्यक्रिया प्रभावित भएका छन् । रगत नपाएर अत्यावश्यक बाहेकका शल्यक्रियाको समय सार्न थालिएको छ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले कोरोनाबाट बच्न अन्य किसिमका सभा सम्मेलन, भेलाहरु नगर्न आग्रह गरिए पनि रक्तदान कार्यक्रमलाई प्रोत्साहित गरिएको बताए ।

उनले रक्तदानमा सहयोग गर्न सबैलाई आग्रह पनि गर्नुभयो । कोरोनाको त्रासको यस समयमा रगतका कारणले कसैले ज्यान गुमाउन नपरोस् भन्नका लागि रक्तदानका कार्यक्रम गरिदिन केन्द्रले अनुरोध गरेको छ ।

नेपाल रेड्क्रस सोसाइटी चितवनका सभापति ज्ञानशाली न्यौपानेका अनुसार नेपाल स्वयमसेबी रक्तदाता समाज र बिरामीका आफन्तहरुले दाता खोजेर अहिलेको सङ्कट टारिरहेका छन् ।

केन्द्रमा चितवनसहित नवलपरासीको दाउन्ने पूर्व र पश्चिम, गोर्खा, धादिङ्, तनहुँ, लमजुङ्, मकवानपुर, रौतहट, सप्तरी र सर्लाहीबाट रगत सङ्कलन हुने गर्दथ्यो । ती जिल्लामा पनि रक्तदानका कार्यक्रम बन्द भएको उहाँले जानकारी दिए ।

Post Comment