डा. महत र विदेशमन्त्री नर्वेका बीच भेटवार्ता

समाचार

न्युयोर्क, असोज ७ । संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन न्युयोर्कमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहनुभएका परराष्ट्रमन्त्री डा प्रकाशरण महत र नर्वेका विदेशमन्त्री बोर्गे विरिन्देबीच विहिबार भेटवार्ता भएको छ ।

भेटवार्तामा द्विपक्षीय हित र चासोका विषयमा समान धारणा बनाएर अगाडि बढ्ने र मैत्री सम्बन्धलाई थप मजबुत बनाउने विषयमा कुराकानी भएको परराष्ट्र सचिव शङ्करदास बैरागीले जानकारी दिनुभयो ।

भेटका अवसरमा नर्वेका विदेशमन्त्रीले भूकम्पपछिको पुनःनिर्माणका बारेमा विशेष चासो राख्नुभएको थियो ।

उहाँले भूकम्पपछिको पुनःनिर्माण प्रक्रियाले तीव्रता पाउनेमा विश्वास व्यक्त गर्दै नेपाल सरकारसँग मिलेर काम गर्न आफूहरु तयार रहेको बताउनुभएको थियो ।

यस्तै, परराष्ट्रमन्त्री डा महतसँग एसियाका लागि बेलायतका मन्त्री आलोक शर्माले पनि शिष्टाचार भेटवार्ता गर्नुभयो ।

सो अवसरमा नेपालको पछिल्लो राजनीतिक अवस्था, व्यापार तथा व्यवसायको पछिल्लो अवस्थाका बारेमा छलफल भएको थियो ।