काभ्रेमा पनि दुई जनामा कोरोना र्‍यापिड टेस्ट पोजिटिभ, दुवैजनालाई धुलिखेल अस्पताल ल्याइयो

काभ्रेमा पनि दुई जनामा कोरोना र्‍यापिड टेस्ट पोजिटिभ, दुवैजनालाई धुलिखेल अस्पताल ल्याइयो
समाचार समाज स्वास्थ्य

काभ्रे, २ बैशाख । काभ्रेमा दुई जना युवकमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट गर्दा पोजिटिभ नतिजा आएको छ । दुवै जना देश बाहिरबाट आएको खुलेको छ ।

काभ्रेको बेथानचोक गाउँपालिकाका २८ वर्षीय र मण्डनदेउपुर नगरपालिकाका २३ वर्षीय व्यक्तिको र्‍यापिड टेस्ट रिपोर्ट पोजेटिभ आएको हो । बेथानचोकका व्यक्ति भारतबाट गत ९ चैतमा घर फर्किएका थिए भने मण्डनपुरका व्यक्ति ७ चैतमा दुबईबाट आएका थिए ।

अहिले दुवैजनालाई धुलिखेल अस्पताल ल्याइएको छ । दुवै युवाको पीसीआर धुलिखेल अस्पतालमै गरिने बताईएको छ ।

पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्ने ८१ वर्षीया आमा र ५८ वर्षीय छोरामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, २ वैशाख । सोमबार र्यापिड टेस्टमा कोरोना पोजिटिभ देखिएपछि काठमाडौँ पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट एकै परिवारका तिन जनालाई थप परिक्षण र उपचारको लागि पाटन अस्पताल भर्ना गरिएको थियो । ति तिन जना मध्ये दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ८१ वर्षीया आमा र ५८ वर्षीय छोरामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

बाँकी एक जना ५२ वर्षीया बुहारीको पहिलो टेस्ट रिपोर्ट भने नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । उनीहरु २८ दिन अगाडी गत चैत्र ५ गते बेलायतबाट नेपाल आएका थिए । सोमबार नै सनसिटी प्रहरीद्वारा सिल गरिएको छ ।

सनसिटीमा संक्रमित भेटीए संगै त्यहाँ बस्ने मानिसहरुको समेत कोरोना परिक्षण आजैबाट सुरु गरिएको छ । त्यसै गरि संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको पनि ट्रेसीङ सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचना यस्तो छ :

”पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा लण्डनबाट आई बसोबास गर्ने एकै परीवारका ३ जना कोभिड-१९ को शंकास्पदहरूको मिति २०७७ साल बैशाख १ गते आरडीटी विधिबाट परीक्षण गर्दा दुई जना (५८ बर्षिया पुरुष, ८१ बर्षिया महिला) को पोजेटिभ देखिएकोले पीसीआरबाट थप परिक्षण गर्दा समेत पोजेटिभ रिपोर्ट देखिएको छ भने बाँकी १ जनाको पहिलो परिक्षणमा कोभिड-१९ पोजेटिभ नदेखिएको र उल्लेखित ३ जना व्यक्तिहरू क्वारेन्टाईन टाउन प्लानिंङ स्थित निवासमा बसोबास गर्दै आएको व्यहोरा समेत जानकारीका लागि अनुरोध छ । उक्त अपार्टमेन्टमा बस्ने व्यक्तिहरूको परिक्षण आजैबाट सुरू गरिएको छ भने निजहरू संग संलग्नहरूको tracing सुरू भएको छ ।”

Post Comment