सुदूरपश्चिम प्रदेशमा पठाइयो थप ३४ चिकित्सकको टोली

सुदूरपश्चिम प्रदेशमा पठाइयो थप ३४ चिकित्सकको टोली
समाचार समाज स्वास्थ्य

थप जनशक्तिको आवश्यकता रहेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप ३४ चिकित्सक सुदूरपश्चिम प्रदेशमा पठाएको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले उक्त प्रदेशमा परीक्षणको दायरा बढाउनुपर्ने भएकाले थप चिकित्सक पठाइएको बताउनुभएको हो । ती सबै चिकित्सक एक महिनाका लागि पठाइएको र आवश्यकताअनुरुप समय थप गर्न सकिने मन्त्रालयको भनाइ छ । ती सबै चिकित्सक चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा एमडिएमएस तहमा अध्ययनरत रहनुभएको छ ।

कोभिड–१९ को (पिसिआर) र (आरडिटी) सङ्ख्या २४ हजार २०० को परीक्षण गरेको भन्दै मन्त्रालयले क्वारेनटाइनमा चार हजार ७०६ रहेका जनाएको छ । आइसोलेसनमा ९० जना रहेका बताएको छ । स्वमूल्याङ्कन फारममार्फत हालसम्म १८ हजार २०८ ले फारम भरेका छन् । सोमा रेड जोनमा पर्नुभएका २५१ रहेका छन् । त्यसैगरी परीक्षणको दायरा बढाउनका लागि पिसिआर मेशिन आज पाटन अस्पतालमा पनि जडान गरिएको छ । योसहित उक्त मेशिन देशभरिमा गरी १४ वटा पुगेका छन् ।

हालसम्म सङ्क्रमितको सङ्ख्या १६ नै रहेको र सबैको स्वास्थ्य अवस्था सामान्य नै रहेको पनि मन्त्रालयले जानकारी गराएको छ । पत्रकार सम्मेलनमा मन्त्रालयले नियमित गरिने आधारभूत स्वास्थ्य सेवा सञ्चालन गर्न पनि आग्रह गरेको छ । नियमित खोप सेवा, सुरक्षित गर्भपतन सेवा, दादुरा रुबेला खोप सेवा, परिवार नियोजन सेवा, क्षयरोग, मलेरिया र एचआइभीलगायतका आधारभूत सेवा सञ्चालन गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

यी आधाभूत सेवा बन्द गर्दा भविष्यमा झन ठूलो समस्या हुनसक्ने भन्दै मन्त्रालयले सम्बन्ध भएका सबैलाई सेवा सञ्चालन गर्न आग्रह गरेको हो । पत्रकार सम्मेलनमा फोक्सो रोग तथा आइसीयु विशेषज्ञ डा अर्जुन कार्कीले हालको समस्या समाधानका लागि स्थानीयवासी ठूलो भूमिका रहेकाले परिक्षणको दायरा बढाउन अनुरोध गर्नुभयो ।

Post Comment