पूर्वराज्यमन्त्री चौधरीको निधनप्रति देउवाद्वारा दुःख व्यक्त

पूर्वराज्यमन्त्री चौधरीको निधनप्रति देउवाद्वारा दुःख व्यक्त
राजनीति समाचार

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता एवं पूर्वराज्यमन्त्री दूर्योधनसिंह थारु चौधरीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । पूर्वराज्यमन्त्री चौधरीको आज बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा उपचारका क्रममा ७० वर्षको उमेरमा निधन भएको हो ।

सभापति देउवाले एक शोक विज्ञप्तिमार्फत उहाँको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्नुभएको छ । स्व चौधरीले काँग्रेसको सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको उल्लेख गर्दै सभापति देउवाले उहाँको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको र अपूरणीय क्षति पुगेको बताउनुभएको छ ।

स्व चौधरी २०४८, २०५१ र २०५६ सालको आमनिर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । विसं २०५६ मा संसद्मा निर्वाचनपछि चौधरी स्थानीय विकास राज्यमन्त्री हुनुभएको थियो । स्व चौधरीले विसं २०२८ मा भारतको वनारसबाट राजनीतिक जीवन यात्रा प्रारम्भ गर्नुभएको काँग्रेसले जनाएको छ । पार्टीका विभिन्न पदमा रहेर स्व चौधरीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँका दुई श्रीमती, तीन छोरा र एक छोरी हुनुहुन्छ ।

Post Comment