दशैंको जोहो गर्न गिट्टी कुट्दै ९ बर्षिया बालक

समाचार

बझाङ, असोज १३ । घरमा आम्दानीको स्रोत नभएपछि कापी कलम र झोला बोकेर बिद्यालय जाने उमेरमा जयपृथ्बी नगरपालिकाका दलित परिवारका ९ बर्षीया उमेश सार्की हतौडा समातेर गिट्टी कुट्न थालेका छन् । उनको रहर होईन यो बाध्यता हो । दशै तिहार नजिकै आउदा एक छाक भात खानको लागी ९ बर्षिया बालक गिट्टी कुटेर भात खाने योजना बनाउदै गएका छन् ।

बिद्यालय जाने मन भए पनि घरमा बिहान बेलुकाको हातमुख जोड्न एक मुठ्ठि अन्न नहुने र कापी कलम र झोला किन्ने एक पैसा नभए पछि उनी भोक तिर्खा नभनी आमासँगै गिट्टी कु्टन बाध्य भएका हुन् ।

राम्रोसँग बोल्न नसक्ने जयपृथ्बी नगरपालिका ९ बर्षीया उमेश सार्की भन्छन्, ‘साथी संगी सबै बिद्यालय जान्छन्, जान त मन थियो बिद्यालय गए बेलुका घरमा आएर के खाने खानै पाएर भोक भोकै बिद्यालय गएर पढ्न सकिँदैन ।’ ‘घरमा काम गर्ने कोहि छैन, श्रीमानको सामान्य पेट दुख्ने बिराम लागेर उपचार गर्ने पैसा नहुँदा मृत्यु भएको दुई बर्ष भयो’, जयपृथ्बी नगरपालिकाकि धौली देबी सार्की आसु झार्दै भन्छिन्, ‘दुर्गमको ठाउँ एक त जमिन नै छैन, गाउँमा केहि सिप नलागे पछि दुई छोरा लिएर चैनपुरमा आफन्तको घरमा कोठा लिएर बसेकी छु गिट्टि कुटेर बिहान बेलुकाको हातमुख जोडि राखेका छौं ।’

घाम पानी नभनी रात दिन दुई बर्षीया दुधे बालक पिठ्युमा बोकेर गिटी कुटेर दशैं खर्च जोहो गर्नु पर्ने उनको बाध्यता छ । ९ बर्षीया छोरासंगै सदरमुकाम चैनपुर नजिकैको बाउली खोलामा गिट्टि कुटने गरेकि उनलाई दुई छोरालाई कसरी पाल्ने र बिद्यालय पठाउने भन्ने चिन्ताले पिरोल्छ । ‘महिनाभरी आमा छोराको कमाई ४ हजार हुने गरेको छ ।

केले खाने, केले भाडा तिर्ने, कसरी बिद्यालय पठाउने ? मैले खोलाबाट ढुङ्गा बोक्छु आमा छोरा लागेर फुटाउने गरेका छौं’, उनले भने, ‘दुई महिनादेखि गिट्टि बिक्रि भएको छैन ।’