बन्दनीय नारी

साहित्य

वीर भोग्या बसुन्धरा ….
बसुन्धरा, भूमि माता या नारी माता ….
प्रातः बन्दनिय ….. स्तुत्य ….. परम पवित्र ….. धवल सप्को ……
फेरि किन वीर भोग्या ? भूमि भोगको वस्तु ? नारी भोगको बस्तु ?
भोग्या अर्थात् स्वविवेक विहिन … आत्मनिर्णय बिहिन …
पुरुष मात्र श्रेष्ठ र पूर्ण ?
निराकार ब्रम्हबाट श्रृजित सगुण साकार दुई खण्ड नारी र पुरुष मध्ये पुरुष मात्र कसरी पूर्ण र श्रेष्ठ ?
वीर हुँदैमा भोगहक केवल पुरुषमा मात्र निहित !
विराङ्गना पनि जन्मिएका छन् …. मस्तिष्कले बिर्सिएको छैन …

थोरै पाषाण युगतिर दृष्टि घुमाउँ …..
कठोर मांसलदेहयुक्त नारी समूहको नेतृत्व गर्छे …. आखेट गर्छे …. र बच्चा पनि जन्माउँछे …
पुरुष त केवल वीर्यदातामा साँघुरिएको … हस्तिहिन …पछौटे ….
बिस्तारै नारी अदम्यता बोझ बन्न लाग्यो …. बिझाउन लाग्यो …..
सोच्न थाल्यो पुरुष ….. म कैयौँको पिता १ ऊ केहीकी माता …
नेतृत्व मैले सम्हाल्नु पर्छ …. मेरो वीर्य तेजोमय …..
अदम्यता दमन गर्ने धारिलो हतियार गुणगान …………
सामथ्र्य गलाउने मन्द तेजाव नारी प्रशंसा …..
यत्र नार्यस्तु पूज्यन्ते, रमन्ते तत्र देवता ……
अफिमको पहिलो फाँको ….. प्रसन्न …..नारी ….. निस्क्रिय शक्ति …..
रूप सौन्दर्यको बयान, …. प्रफुल्ल नारी …. कठोर मांसलदेहमा परिवर्तन …. कोमलता र लज्जामा वृद्धि …
धन्य छ श्वेतकेतु …. तिम्रा नियमका अजेय जंजिर ….
कालक्रमेण विकसित सोचको परकाष्टामा अचम्म लाग्छ !
नारी अहिले वीर्य सेचन गर्ने इन्कुबेटर र मानव जेनेरेटरमा समेत सीमित गराइएकोमा

सत्य तर्क प्रमाण या अप्रमानको घेराभन्दा सँधै बाहिर रही आएको छ
तर्कको सहाराले प्रमाणित गर्नुपर्ने सत्य के सत्य ?
अर्को मजबुत तर्क आउँछ अप्रमाणीत गर्न ….
माताले औँलाले देखाइदिएको पुरुषलाई हामीले पिता भन्यौँ
माताले भनिदिएकोले पुरुषले हामीलाई सन्तान माने
कोही भन्छन् सत्य सनातन हुन्छ …
कोही भन्छन् सत्य नूतन हुन्छ
बादबिबादमा सत्य नूतन पुरातन दुवै हुन्छ
पुरानो सत्य असत्य प्रमाणित भएका छन् …. नयाँ सत्यले स्थान ग्रहण गरेर अधिपत्य जमाएको छ
काल व्यतित हुँदै जाँदा पुनः अर्को सत्यको प्रादुर्भाव हुनसक्छ
न्युटनले व्याख्या गरेको सत्य पहिलो हुँदै नभएको होइन् …. अन्धकारमा थियो
अँध्यारोमा विलुप्त धेरै सत्यहरु छन् … प्रकाशमा आउन बाँकी छन् ….
अर्थात् थुप्रै सत्यहरुको जानकारी पाउन बाँकी नै छन् …. प्रकाशमा आउन बाँकी सत्य हुँदै नभएका हैनन ….
बहसलाई नलम्ब्याउँन सत्यलाई साश्वत भनिदिए हुन्छ …. सत्य कुनै तर्कको निष्पत्ति हुन सक्दैन ….

“गार्गी, धेरै प्रश्न नगर, मस्तिष्क फुटला !”
उत्तर दिन अक्षम याज्ञवल्कको ढाल …. पराजयको त्रास ….
बिज्ञताको स्वाभिमानले जरा हालेर अभिमानमा परिणत भएको स्थितिमा नारीको बिदुषीता कसरी सह्य हुनसक्छ र ?
नारीलाई हीन मानसिकता युक्त पुरुष मस्तिष्कले कसरी अगाडि देख्न सक्छ र ?
ऊ त भोग्या हो …. जड चेतनको सोचको सोचले आफ्नै पत्नीको क्षमतामा पुरुष ईष्र्या गर्छ ….
तर युगले लामो छलाङ लगाइसकेको छ ..
अहिले “गड पार्टिकल”को खोजी हुँदैछ …
खोजीदलमा नारी पनि सम्मिलित छे सक्षम छे र त सम्मिलित छे
क्षमतालाई नमन गर्नै पर्छ …. सक्षमतालाई प्रणाम गर्नैपर्छ ….
युग सहअस्तित्वको छ …. नारी सक्षम छे बिदुषी छे ….
हजारौँ याज्ञवल्कहरुलाई ज्ञान दिन सक्षम छे, जवाफ दिन सबल छे
लैङ्गिक भेद बिना क्षमतालाई प्रणाम गरौँ
बुदुषी नारीको सक्षमतालाई नमन गरौँ
समय मननले यही दर्शाउँछ ….

अस्तु ।

Post Comment