घरमा बस्न पाउँदा मजदुरहरुमा खुसियाली

समाचार

गजुरी (धादिङ), १३ पुस । लामो समयदेखि महादेवबेंसी आसपास आगरा खोलामा गिट्टी ढुङ्गामा मजदुरका रूपमा काम गर्दै आएका मजदुरलाई घर वितरण गरिएको छ ।

युक्याप नेपाल र इटालियन संस्था आपेरोनले एक भान्सा कोठा र अर्को एक कोठासहितको घर निर्माण गरी मजदुरलाई शनिबार हस्तान्तरण गरिएको हो । तसर्पु–१ धैरेनीस्थित मजदुर आवास क्षेत्रमा ३० परिवारलाई ‘हाम्रो घर परियोजना’मार्फत सिमेन्ट र ब्लक तथा जस्ताको छानो लगाइएको ३० घर प्रजिअ वासुदेव घिमिरेले साँचो दिएर हस्तान्तरण गर्नुभएको हो ।

प्रजिअ घिमिरेले मजदुर आवास क्षेत्रको उद्घाटन गर्दै मजदुरलाई खादा लगाएर आवास क्षेत्रमा स्वागत गर्नुभएको थियो । घर पाएपछि खुसीले गद्गद् भएका मजदुरले प्रजिअलगायत दाता र अतिथिलाई दुबोको माला लगाएर सम्मान गरे ।

उनीहरू सो घरमा १५ वर्षसम्म निर्बाध बस्न पाउने छन् । त्यसबापत उनीहरूले कुनै कर तिर्नु पर्दैन । तर उनीहरू घरले चर्चेको जमिन भने उनीहरूले पाउँदैनन् । दश रोपनी क्षेत्रफलको व्यक्तिगत जमिन १५ वर्षसम्मका लागि संस्थाले भाडा तिरिदिनेछ । उनीहरूले सो अवधिमा अर्को विकल्प नभए सो स्थान छाड्नुपर्ने हुन्छ ।

विद्यालय नजिकै रहेकाले बालबालिकालाई पनि सुविधा भएको छ । प्रतिघर रु एक लाख खर्च गर्ने योजना बनाएर सुरु भएको परियोजना निर्माण गरिसक्दा करिब ४५ लाख खर्च भएको आपेरोनका गणेश भट्टराईले बताउनुभयो । रासस

Post Comment