बागलुङमा धार्मिक पर्यटन महोत्सव हुने

समाचार

बागलुङ, १८ माघ । बागलुङमा धार्मिक पर्यटन महोत्सव हुने भएको छ । धार्मिक पर्यटन गन्तव्यका रुपमा विकास भइरहेको विश्वशान्ति सर्वसिद्धधाम पञ्चकोटमा महोत्सव हुन लागेको हो । बागलुङ नगरपालिका–८ स्थित पञ्चकोट क्षेत्रको बृहत् विकास र पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य लिइएको छ ।

आगामी फागुन १ देखि १५ गतेसम्म चल्ने महोत्सवमा विश्वशान्ति धनधान्याचल धवलागिरि विराट महायज्ञ पनि चल्नेछ । सोही अवसरमा विश्वकै अग्लो ठानिएको १०८ फिटको विश्वशान्ति कलशको पनि शिलान्यास हुने आयोजकले जनाएको छ । अनन्त श्रीविभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथबाबा) को पहलमा महोत्सव आयोजना गरिएको हो ।

महायज्ञ र धार्मिक पर्यटन महोत्सवको तयारी तीव्र रुपमा अघि बढेको आयोजकको भनाइ छ । महोत्सव अवधिभर लाखौँ भक्तालु र पर्यटक पञ्चकोट पु¥याउने लक्ष्य लिइएको छ । महोत्सवमा गौमहोत्सव, गण्डकी गोपाल गौशालाको उद्घाटन, गण्डकी स्नान, विशाल कलश यात्रा, महापुराण, वेद, उपनिषद्, रामायण आदिको पाठपरायण, साहित्य सम्मेलन एवम् कवि गोष्ठी, सनातन वैदिक धर्म महासम्मेलन र सवा करोड दीप प्रज्वलन गरिने जनाइएको छ ।

उक्त स्थलमा पाँच हजार ५५५ किलोको मुक्तिनाथ महाघन्ट पनि बन्ने भएको छ । विश्वशान्ति कलश निर्माणमा मात्रै रु १५ करोड लागत लाग्ने च्यारिटेबल ट्रस्टले जनाएको छ । कलश निर्माणसँगै उक्त स्थानमा एक हजारभन्दा बढी मानिस अट्ने भवन, ५७ रोपनी क्षेत्रफलमा गौशाला, धार्मिक व्यक्तित्वहरू बस्नका लागि कुटी निर्माण गरिने ट्रस्टका जनसम्पर्क अधिकृत खेमराज सापकोटाले जानकारी दिनुभयो । रासस

Post Comment