आदरणीय सम्पूर्ण नेपालीभाषी दाजुभाइ तथा दिदीबहिनीहरु,
कोलोराडोमा बसोबास गर्ने हामी नेपालीभाषीहरु बिगत लामो समयदेखी एउटा नेपाली घर (सामुदायिक भवन) निर्माण गर्ने अभियानमा लागेको कुरा यहांहरु सबैलाई अवगत नै छ । नेपाली भाषा र संस्कृतीको संरक्षण र सम्बर्धन गरी हाम्रो पहिचानलाई जोगाउनुको साथै हाम्रा सन्ततीहरुलाई पनि हाम्रो भाषा संस्कृती तथा सामाजिक संस्कार सिकाएर हाम्रो मौलिक रीतिथिति र परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने वातावरण सृजना गर्नु नै यस सामुदायिक केन्द्रको महत्व हाे भन्ने हामी सबैले बुझेका छौं ।
यसै सिलसिलामा सबै नेपाली भाषी समुदाय, संघसंस्था र बुद्धिजीवीहरुको लामो प्रयास र छलफलबाट हाम्रो सामुदायिक भवनकाे प्रयोजनको लागि कोलोराडो स्थित वेष्ट मिनिस्टरमा रहेको एउटा बन्द भएको चर्चको प्रोपर्टी किन्ने प्रक्रियामा हामी लागेको र त्यसको लागि पर्चेज कन्ट्रयाक्ट (MEC) पनि गरिएको कुरा यहांहरूलाइ सहर्ष जानकारी गराउन चाहन्छौं। यो प्रोपर्टी 4001 W 76 Ave. Westminster, Co 80030 मा रहेको छ । करिब 2.17 एकड़ जग्गामा बनेको चर्च १० हजार स्क्यायर फिटकाे छ । भवनमा २५० जना बस्न सक्ने क्षमता भएकाे एउटा सैंक्चुअरी हल, फराकिलो किचन र पैन्ट्री सहितको एउटा ठूलो डाइनिंग हल, तीन वटा रेस्टरूम, दुई वटा कक्षाकोठा र एउटा अफिस कोठा रहेकाे छ। यो प्रोपर्टीलाई हामीले जम्मा ९ लाख ५० हजार डलर मा किन्न लागेका हाैं। यो ठाउँ प्राय हामी सबै कोलोराडोबासीहरुका लागि मध्य भागमा पर्दछ । तपाइहरु पनि आफ्नो समय मिलाएर यो ठाउँमा गइ हेर्नुहुन अनुराेध गर्दछाैं ।
अहिले यहि भवनलाई मर्मत संभार गरेर काम चलाउँदै गर्ने र पछि भबिष्यमा थप साधन र श्रोतको ब्यवस्था भएपछि आवश्यकता अनुसार अरु हल र भवनहरु निर्माण गर्ने योजना रहेको छ । यो प्रोपर्टीलाई हामीले चाहेको जस्तो प्रयोजनको लागि उपयोग गर्न र हामीले भबिष्यमा बनाउने अरु थप निर्माण कार्यहरुको लागि सिटी अफ वेस्टमिनिस्टरको योजना बिभागबाट स्विकृती लिने प्रक्रियाको लागि हामी लागिसकेका छाैं। सिटी अफ वेस्टमिनिस्टरबाट स्विकृती पाइसकेपछि हामीले यो प्रोपेर्टी किन्ने छौं । त्यसपछि मात्र यो प्रोपेर्टी हाम्रो नेपाली भाषी समुदायको साझा सम्पती हुनेछ ।
अब सबैभन्दा महत्वपूर्ण कुरा हामीले छिटो भन्दा छिटो पैसा जम्मा गर्नुपर्ने छ । अहिले हाम्रो बैंक खातामा १ लाख ३० हजार डलर रहेकाे छ । यो प्रोपर्टी किन्न र मर्मत संभार गर्न हामीलाई धेरै पैसा चाहिन्छ। तपाईं हामी सबैले खुला हृदयले जे जति सकिन्छ सक्दो धेरै डोनेशन गरेर नै रकम जम्मा हुने हो। तपाईं हामी मध्ये कतिपयले डोनेशन गरिसकेका छौं भने, कतिपय त्यसको लागि तैयारी अवस्थामा रहेका छाै । काेही आदरणीय दाताहरुले दुई बर्ष अगाडि सम्पन्न भएको कोलोराडो श्रीमद् भागवत महापुराणको समयमा निश्चित डोनेशन रकम क़बूल (Pledged) गरिसक्नु भएको छ । हामी धेरै जना त्यति बेलाको लिस्टमा छुटेका छौं। अब समय आएको छ हामी कोहि पनि नछुटिकन डोनेशन जम्मा गर्ने । निश्चय पनि तपाइहरुले गर्नुहुने डोनेशन रकमको साइज अनुसार डोनरहरुको उचित सम्मान (recognition) उक्त सामुदायिक भवनमा सधै हुनेछ । डोनेशनको लागि तपाईंले सोझै नेपाली घरको First Bank मा रहेको खाता नम्बर 386-125-3632 मा जम्मा गर्न वा चेक मेलबाट पठाउन सक्नुहुन्छ । त्यस्तै किस्ताबन्दीमा ACH मार्फत हरेक महिना अटोमेटिक निश्चित रकम डोनेशन गर्न सक्नुहुन्छ , अथवा नेपाली घर लगायत कोलोराडोस्थित कुनै पनि सामाजिक संघसस्थाका प्रतिनिधीलाई सम्पर्कगरी उहा मार्फत पनि दानगर्न सक्नु हुनेछ ।
त्यसैले सम्पूर्ण नेपाली तथा नेपाली भाषी , सामाजिक संघसंस्थाका प्रतिनिधी, बुध्दीजिवी, ब्यवसायी, समाजसेवी, गन्यमान्य, कलाकार, पत्रकार , सर्वसाधारण सबै जुटेर सक्दो धेरै डोनेशन गर्नुहुन तथा आफ्ना छर छिमेक ईष्टमित्र साथीभाई सबैलाई यो डोनेशन गर्ने अभियानमा सामेल गरेर सामुदायिक भवन (नेपाली घर) को स्थापना गर्ने महान कार्यलाई सफल पार्नु सहयाेग गरीदिनु हुन बिनम्र अनुरोध गर्दछौं ।
– लछुमन राना अध्यक्ष तथा सम्पूर्ण नेपाली घर परिवार