१३, मङ्सिर । पार्टी एकताको गाईँगुईँ चलिरहेका बेला नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरम नेपालले संविधान संशोधनका विषयमा साझा धारणा सार्वजनिक गरेका छन् । नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराई र संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति निकालेर सबै राष्ट्रिय समस्याको समाधान गर्नेगरी संविधान संशोधन गर्नुपर्ने बताएका हुन् ।
दुवै पार्टीले निकालेको विज्ञप्तिमा राष्ट्रिय मुद्दालाई सम्वोधन नगरी गरिने संविधान संशोधनको अर्थ नहुने पनि उल्लेख गरिएको छ । विज्ञप्तिमा नागरिकद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्ने, संविधान संशोधन गर्दा मधेसी, थारु, आदिवासी, जनजाती, खस, मुस्लिम, दलित, उत्पीडित, उपेक्षित र अल्पसंख्यक समुदा र पिछडिएकोक्षेत्रको समस्या सम्वोधन गर्नुपर्ने र यसका लागि मधेसी मोर्चा तथा राष्ट्रिय गठबन्धनले उठाएका माग पूरा हुनुपर्ने उल्लेख गरिएको छ ।यस अनुसार संविधान संशोधन नभए संविधान कार्यान्वयन नहुने तथा देशमा थप द्वन्द्व अन्योलता र अस्थिरता बढ्ने उल्लेख गरिएको छ । नयाँ शक्ति र संघीय समाजवादी फोरमबिच एकीकरण गर्न छलफल चलिरहेको दुवै पार्टीका नेताले बताएका छन् ।
‘अहिले पार्टी एक भइहाल्छ भन्न सकिने अवस्था त छैन’ नयाँ शक्तिको माथिल्लो तहका एक नेताले भने ‘तर, विभिन्न चरणमा छलफल चलिरहेको छ ।’यही छलफलबाट संविधान संशोधनका विषयमा साझा धारणा बनाउन सहमति जुटेको उनको भनाई छ । साझा विज्ञप्ति र पार्र्टी एकीकरणको चर्चाबिच कुनै तादात्म्यता छ भन्ने प्रश्नमा ती नेताले हाँस्दै भने ‘अहिलेलाई संविधान संशोधनको कुरामा हामीएकैठाउँमा पुगेका छौं, तादात्म्यता नभइ त संयुक्त विज्ञप्ति किन आउँथ्यो र ?’