१७,मंसिर । प्रधानमन्त्री पुष्पकलम दाहाल, उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तराई र पहाडी जिल्लाहरू टुक्र्याएर पाँच नम्बर प्रदेशको सीमाङ्कन तयार पार्ने भित्री सहमति भएको खुलासा भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान बसेको सत्तारुढ दल र मधेसी मोर्चाका शीर्ष नेताहरूको बैठकमा प्रधानमन्त्री दाहालले क–कसको समर्थन र प्रस्तावमाअहिलेको संविधान संशोधनको प्रस्ताव ल्याएका हुन् रहस्य खोलिदिएका छन् । दाहालले संविधान संशोधनमा राखिएका प्रावधानबारे भएकाभित्री रहस्य खोलिदिएपछि मधेसी मोर्चाका नेताहरू चकित परेका छन् ।बैठक स्रोतका अनुसार प्रधानमन्त्री दाहालले भनेका थिए, ‘महन्त ठाकुरजी र उपेन्द्र यादवजीसँग पटक–पटक सल्लाह गरेर संविधान संशोधनको प्रस्ताव ल्याएको हुँ । तपाईहरूले नै दिएको सुझाव अनुसार पाँच नम्बर प्रदेशलाई टुक्र्याउने गरेर प्रस्ताव बनाए ।
तपाई दुबै जनाले त्यस बेला समर्थन गर्नुभयो । अहिले आएर आलोचनात्मक समर्थन पनि गर्नु भएन । मलाई धोका दिनुभयो । फसाइ दिनुभयो । संशोधनको प्रस्तावमा समर्थन छैन भनेर निर्णय गर्नुभएको छ । कम से कम आलोचनात्मक समर्थन गरिदिनुस् । म त अप्ठेरोमा परे ।’प्रधानमन्त्री दाहालले यति भनिसकेपछि तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले केही जवाफ दिन सकेका थिएनन् ।
प्रधानमन्त्रीको यस्तो कुरा सुनेपछि बैठकमा दुई मिनटजति सन्नाटाछाएको थियो । सन्नाटा चिर्दै ठाकुर रयादवले सानो स्वरमा संशोधन प्रस्तावको चौतर्फी विरोध भएपछि आफूहरूले आलोचनात्मक समर्थन पनि गर्न नसकेको बताएका थिए ।ठाकुर र यादवले संशोधनमा केही विषय परिमार्जन गरिए समर्थन गर्ने आश्वासन भने बैठकमा दाहाललाई दिएका छन् । त्यसपछि दाहालले अलि ठूलो स्वास लिएका थिए ।
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष ठाकुर र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादवले ‘२ नम्बर प्रदेश जस्तै ५ नम्बर प्रदेशलाई पहाडबाट अलग बनाउने हो भने हामी समर्थन गर्न सक्छौँ’ भनेर प्रधानमन्त्री दाहाललाई उकासेको एक जना मधेसी मोर्चाका नेताले बताए ।तराई र पहाडी जिल्ला टुक्र्याउने योजना कसलाई खुसी बनाउने र कसको इशारामा ल्याइएको हो बैठकमा कसैले केही बताएनन् । तर जसरी प्रस्ताव आएको छ त्यसले मुलुकलाई दीर्घकालमा ठूलो असर पर्ने पक्का छ । मिलेर बसेका जनतालाई किन जुधाउन खोजियो रहस्यपूर्ण छ ।
सीमाङ्कनको विवाद झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरमा रहेकोमा किन ५ नम्बर प्रदेशलाई आक्रमण भयो भनेर खोजीको विषय बनेको छ। हिन्दी भाषालाई अनुसूचीमा राखेर दुई–तीन वर्षपछि कामकाजी भाषा बनाउने पनि यी नेताहरूवीच सहमति भएको स्रोतको भनाइ छ ।
अंगीकृत नागरिकलाई पनि अधिकार दिन सहमति भएको बिहीबारको बैठकबाट खुलासा भएकोछ ।५ नम्बर प्रदेशबाट रोल्पा, प्यूठान, अर्घाखाँची, गुल्मी र पाल्पा जिल्लालाई तराईबाट टुक्र्याएर नवलपरासीको आधा भागदेखि बर्दियासम्मका तराईका जिल्ला मात्रै राखेर बनाउन लागिएको प्रदेश राष्ट्रघाती भएको भन्दै विरोध सुरु भएपछि मधेसी मोर्चा पछाडि हटेको जनाइएको छ ।