२५,मंसिर । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका एक जना प्रभावशाली नेताले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिन सुझाव दिएका छन् ।
पूर्वमन्त्री समेत रहेका माओवादी केन्द्रका नेता गोपाल किरातीले पार्टी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री पदबाट राजीनामा आग्रह गरेका हुन् ।
संविधान संशोधनको विरोधमा विपक्षी दलहरुको आन्दोलनकाबीच गत बुधबार दाङ पुगेर प्रचण्डले आफू प्रधानमन्त्री पदमा रहेसम्म संविधान संसोधन प्रस्ताव फिर्ता नहुने अडान सार्वजनिक गरेका थिए ।
जुन समाचारले प्रतिपक्षी दलमात्रै होइन् स्वयं प्रचण्डकै पार्टीमा समेत खैलाबैला मच्चियो । र, नेता किरातीले त त्यसमा असन्तुष्टि जनाउँदै राजीनामा दिन सुझावै दिए ।
‘म प्रधानमन्त्री रहँदासम्म संशोधन फिर्ता हुन्न’ भन्ने हेडलाइनसहितको समाचार सामाजिक सञ्जाल फेसबुकमा शेयर गर्दै नेता किरातीले अगाडि भनेका छन्- ‘प्रधानमन्त्री हुञ्जेल प्रस्ताव फिर्ता नलिनेभए राजीनामा दिएर फिर्ता लिए भइहाल्यो नि । कुन ठूलो कुरा हो र ?’
प्रचण्डका विश्वासपात्र मानिने किरातीको राजीनामा मागले माओवादीमा नयाँ तरङ्ग ल्याएको छ । किरातीको यो भनाईबाट उनी पनि अहिलेको संविधान संशोधन प्रस्तावको विपक्षमा रहको बुझिन्छ ।
पछिल्लो समय पार्टी र अध्यक्ष प्रचण्डप्रति असन्तुष्ट रहँदै आएका नेता किरातीले केही दिनअघि मात्रै आफ्नो पदीय जिम्मेवारीबाट राजीनामा दिएका थिए ।
सरकार गठनमा बाहुनवाद हावी भएको र मन्त्रीमण्डल विस्तारमा महिला जनजाति लगायतको सहभागितामा विभेद भएपछि किराती असन्तुष्ट छन् ।
यसअघि माओवादी केन्द्रका प्रभावशाली नेता टोपबहादुर रायमाझीले संविधान संशोधन प्रस्तावको विरोध गर्दै जनतासँगै आन्दोलनमा उत्रिसकेका छन् ।