१३ पौष। अमेरिकाको न्युयोर्कमा रहेको ट्रम्प टावरको लबीमा एक बेवारिसे झोला भेटिएपछि बम भएको आशंकामा हतारहतार प्रहरिले सो भवन खाली गराएको समाचार संस्था एपीले जनाएको छ। तर,शंकास्पद उक्त झोलामा बम नभएर बच्चाको खेलौना पाइएको थियो। त्यहाँ उपस्थित एक व्यक्तिले बनाएर ट्वीटरमा पोस्ट गरेको भिडियोमा देखाइए अनुसार मानिसहरुबीच भागदौड भएको थियो।
न्युयोर्क प्रहरि विभागका प्रवक्ता स्टीफन डेबिसले बताएअनुसार भवनको नाइकटाउन स्टोरको गेट नजिक एक झोला भेटिएको र बम निरोधक दस्ताले सो झोला जाँच गरेको थियो। यो भवनमा अमेरिकाका नावनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प बस्छन्। साथौ उनको अफिस पनि सोहि भवनमा छ। तर यो घटना हुने बेला उनी भने सो भवनमा नभएर फ्लोरिडाको आफ्नो मार–आ–लागो इस्टेटमा थिए।